नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० पुस ।


नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले पार्टीलाई नयाँ आयाम दिएको विशेष महाधिवेशनको प्रचारप्रसार समितिले जनाएको छ ।
समितिका संयोजक सुवास पोखरेलले मंगलबार साँझ यहाँ पत्रकार सम्मेलनमा गरी विशेष महाधिवेशनले पार्टीभित्र देखिएको अन्तरपार्टी विवाद समाधानतर्फ गएको बताउनुभयो ।
विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच विभिन्न विषयमा छलफल भइरहेको जनाउँदै उहाँले नेतृत्व परिवर्तनको विषयमा हालसम्म कुनै निर्णय भइनसकेको बताउनुभयो ।
विशेष महाधिवेशन आह्वान गर्नुको कारण नीति र नेतृत्व भएकाले नीतिका विषयमा भने पार्टीले अपनत्व लिएको संयोजक पोखरेलले जानकारी दिनुभयो ।
“नेतृत्वका विषयमा सहमति भए सोहीअनुसार अघि बढ्ने छौँ, नभए बुधबार बिहान निर्वाचनको प्रक्रियामा अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो । विशेष महाधिवेशनले आमजनतासँग जोडिएका, तल्लो निकायलाई बढी अधिकार सम्पन्न बनाउने काम भएको उहाँको भनाइ छ ।

