नवकान्तिपुर संवाददाता
देवदह (रुपन्देही), ३ माघ ।


सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले सभ्यता, संस्कृति र संस्कारमा नेपाल विश्वमै धनी देश भएको बताउनुभएको छ ।आज रुपन्देहीको भैरहवामा आयोजित प्रबुद्ध नागरिक गोष्ठी–२०८२ मा उहाँले संस्कारविनाको विकास टिकाउ हुन नसक्ने दाबी गर्नुभयो ।
पूर्वप्रधानन्यायाधीश पराजुलीले अनेक लोभ, प्रलोभन, अनुचित व्यवहारमा पारेर धर्मान्तर र धर्म परिवर्तन गराउनु ठूलो अपराध भएको उल्लेख गर्दै त्यस्तो कार्यमा लाग्ने व्यक्तिलाई कडा कारबाही गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कल्याणकुमार तिम्सिना, मुक्तिनाथ धाम नयाँगाउँका पिठाधीश लोकानन्द सरस्वतीजी महाराज, हिन्दू स्वयंसेवक संघ, नेपालका राष्ट्रिय कार्यकारिणी सदस्य राजकुमार गुरुङलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
