नवकान्तिपुर संवाददाता
कर्णाली , ४ माघ ।


नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलको नेतामा मङ्गल शाही चयन हुनुभएको छ । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा बसेको नेकपा प्रदेशसभा दलको बैठकले मुगु ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई ध्वनि मतका आधारमा बहुमतबाट दलको नेता चयन गरेको हो ।
प्रदेशसभा सदस्यत्रय विद्यमान विष्ट, दुर्गाबहादुर रावत र मङ्गलबहादुर शाहीले दाबी नछोडेपछि ध्वनि मतका माध्यमबाट बहुमतका आधारमा शाही दलको नेतामा चयन हुनुभएको हो । दलको नेतामा प्रदेशसभा सदस्यद्वय रणसिंह परियार र कृष्णबहादुर जिसीको पनि दाबी रहेको थियो ।
बैठकमा परियार र जिसीले सहमतिका लागि दाबी छोडेपछि तीन जनाको दाबी रहेको थियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको नेता राजकुमार शर्माले गत मङ्सिर १७ गते दलको नेताबाट राजीनामा दिएर प्रगतिशील लोकतान्त्रिक पार्टीमा सहभागी भएपछि उक्त पद रिक्त थियो ।
