उपराष्ट्रपति यादवसँग भारतीय निमित्त राजदूत पाण्डेको शिष्टाचार भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा राकेश पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीयसम्बन्ध, सहयोग तथा अन्य विविध आयामका विषयमा छलफल भएको जनाइएको छ ।

उपराष्ट्रपति यादवले नेपाल–भारतसम्बन्ध सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, प्राविधिक तथा जनस्तरमा सदियौँदेखि प्रगाढ रहिआएको उल्लेख गर्नुभयो । उहाँले नेपाल–भारतसम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताउँदै नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताउनुभएको छ ।

साथै, भारत सरकारले ‘नेबरहुड फस्र्ट’ नीतिअन्तर्गत छिमेकीसँगको सम्बन्धलाई विशेष प्राथमिकता दिने नीति अवलम्बन गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । उपराष्ट्रपति यादवले भारत नेपालको एक महत्वपूर्ण विकास साझेदारको रूपमा रहेको उल्लेख गर्दै आर्थिक तथा प्राविधिकसहित विभिन्न क्षेत्रमा भारतले पु¥याउँदै आएको उल्लेखनीय सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले निमित्त राजदूत पाण्डेमार्फत भारतका महामहिम उपराष्ट्रपति सिपी राधाकृष्णनको सुस्वास्थ्य तथा भारतीय जनताको प्रगति र समृद्धिको शुभकामना दिनुभएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।

उक्त अवसरमा निमित्त राजदूत पाण्डेले नेपाललाई भारतले हरेक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले विशेषगरी खेलकूदअन्तर्गत क्रिकेटमा सहयोग गर्न भारत इच्छुक रहेको उल्लेख गर्दै नेपालका रेलवे क्षेत्रमा सक्दो सहयोग गर्न भारत तयार रहेको बताउनुभयो ।

सम्बन्धित समाचार