नवकान्तिपुर संवाददाता
काठमाडौं, १० माघ ।


काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डका विषयमा सर्वाेच्च अदालतको आदेश र निर्णयलाई आफूहरूले सम्मान गर्ने बताउनुभएको छ ।
उपत्यकाका १९ वटा नदी सङ्घर्ष समितिका पदाधिकारीसँग शनिबार भएको भेटमा उहाँले अदालतको सम्मान गर्दै काठमाडौँ महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाएको रोक्का फुकुवाको सार्वजनिक सूचना जारी गरेको जनाउनुभयो ।
सर्वाेच्च अदालतको यही माघ ४ गते नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डका विषयमा भएको आदेश र काठमाडौँ महानगरपालिकाले गरेको निर्माण रोक्का फुकुवाप्रति आभार व्यक्त गर्न आएका समितिका पदाधिकारीसँग कार्यवाहक प्रमुख डङ्गोलले यहाँका बासिन्दालाई विस्थापित गराउनेभन्दा पनि उहाँहरूको मागको सम्बोधन गर्दै सबै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नदीको छेउमा रहेका उपत्यकावासीले विभिन्न समयमा अदालतमा गएर, सडकबाट, विभिन्न कार्यालयमा गएर एकता र सहकार्यका साथ आफ्ना समस्या बुलन्द आवाजमा उठाइरहनुभएकामा सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
“यहाँका बसिन्दालाई विस्थापित गराउने नभई जायज माग सम्बोधन गर्दै अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “अन्योल र अनिर्णयका समयमा तपाईंहरूबीचको सहकार्य, समन्वय र एकताले पाएको निरन्तरताको प्रशंसा गर्दछु । तपाईंहरूले संवेदनशील समयमा देखाउनुभएको संयमतालाई पनि धन्यवाद ।”
कार्यवाहक प्रमुख डङ्गोलसँगको भेटपछि नदी सरोकार सङ्घर्ष समितिका संयोजक ऋषि बस्यालले डङ्गोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी प्राप्त गरेकामा बधाई ज्ञापन गर्नुभयो ।
उहाँले यहाँका नागरिकको रक्षा गर्न र नगरवासीका समस्या समाधानमा निरन्तर लाग्न आग्रह गर्नुभयो । अभियन्ता राजाराम तण्डुकारलगायतले पनि सकारात्मक पहलका लागि कार्यवाहक प्रमुखलाई धन्यवाद भन्नुभयो ।
