कोशी प्रदेश : राष्ट्रियसभाको निर्वाचनको सम्पूर्ण तयारी पूरा

कोशी प्रदेशमा राष्ट्रियसभाका दुई सदस्यको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेशमा राष्ट्रियसभाका लागि दलित र महिला सदस्य पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।

राष्ट्रियसभा सदस्यको मतदान प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आइतबार बिहान १०ः०० देखि ३ः०० बजेसम्म हुने कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो ।

प्रदेशमा खुल्ला तर्फको एक सदस्य पदमा निर्विरोध निर्वाचित भइसक्नुभएको छ । नेपाली कांग्रेस–नेकपा कम्युनिष्ट पार्टी (एमाले) गठबन्धनबाट खुल्ला तर्फका कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको हो ।

यसैगरी गठबन्धनबाट महिलामा रोशनी मेचे र दलितमा सोम पोर्तेल उम्मेदवार हुनुहुन्छ भने नेकपाबाट महिलामा नमिता न्यौपाने र दलितमा खेम सुन्दासले उम्मेदवारी दिनुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशको मतभार १० हजार १३५ रहेको छ । निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुन्छन् ।

प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको १९ रहेको छ । कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये नेपाली कांग्रेसका ११३, एमालेका १०८, नेपाली कम्युनिष्ट पार्टीका ३६, जसपा नेपाल र राप्रपाका चार–चार र स्वतन्त्र दुई जना रहेका छन् । प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका पाँच र जसपा एक सांसद छन् ।

यसैबीच, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका राप्रपाका प्रदेशसभा सदस्य भक्ति सिटौला, नेकपाका सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष असिम राई, उदयपुरको लिम्बचुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राई, इलामको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईको नाम मतदाता सूचिबाट हटाइएको छ ।

प्रतिनिधिसभाको सदस्य पदमा उम्मेदवार भएकाले एमालेका तर्फबाट रङ्गेली नगरपालिका प्रमुख दिलीप बगडिया, ओखलढुङ्गाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा, श्रम संस्कृति पार्टीका सुनसरी धरानका प्रमुख हर्क साम्पाङ र भ्रष्टाचार मुद्दामा निलम्बित नेपाली कांग्रेसका झापा गाउँपालिका अध्यक्ष जयनारायण साहको नाम मतदाता सूचिबाट हटाइएको छ ।

सम्बन्धित समाचार