नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ माघ ।


नागरिक पत्रिका प्रकाशन गर्दै आएको नेपाल रिपब्लिक मिडियामा पीडित पत्रकारहरूका तर्फबाट नेपाल पत्रकार महासङ्घको केन्द्रीय नेतृत्वले तालाबन्दी गर्ने जनाएको छ । शुक्रबार महासङ्घमा बसेको सरोकारवालाहरूको बैठकले लगातार ५ दिनसम्म धर्नाका कार्यक्रम गर्दा पनि सुनुवाइ नभएपटि अब तालाबन्दीको विकल्प नभएको निर्णय गरेको हो ।
संस्थाको स्थापनाकालदेखि नै अर्थात करिब १७ वर्षसम्म आफ्नो ऊर्जाशील समय, श्रम र क्षमता समर्पण गरेका पत्रकार तथा कर्मचारीहरू आजसम्म श्रम ऐन २०७४, श्रम नियमावली २०७५ तथा श्रमजीवी पत्रकार ऐनले तोकेको न्यूनतम पारिश्रमिक र सेवासुविधाबाट वञ्चित हुनुपरेपछि पीडित पत्रकार कर्मचारीले आन्दोलन गर्दै आएका हुन् ।
यस क्रममा लगातार धर्ना दिएर शान्तिपूर्ण आन्दोलन गर्दा पनि उक्त पत्रिकाका साहु र सम्पादकले समस्या समाधानतर्फ कुनै चासो नदेखाएपछि महासङ्घको केन्द्रीय नेतृत्वले थप सशक्त कार्यक्रम घोषणा गर्न सरोकारवालाको बैठक बोलाएको थियो ।
कम्पनीले पत्रकार कर्मचारीका समस्या समाधानमा चासो नदेखाए यसबाहेक क्रमशः अन्य सशक्त कार्यक्रम पनि घोषणा गर्ने र कुनै हालतमा पछि नहट्ने निर्णय गरेको जानकारी कार्यक्रमका सहभागी तथा नेपाल पत्रकार महासङ्घ, नागरिक शाखाका अध्यक्ष रघुनाथ लामिछानेले दिए ।

संस्थाले एकातर्फ आफ्ना कर्मचारी पत्रकारलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक नै दिएको छैन भने अर्कोतर्फ कोभिड–१९ को बहानामा करिब ४३ महिनासम्म ५० देखि ७५ प्रतिशतसम्म तलब कटौती गरेको छ जबकि कोरोनाका बेला कर्मचारी पत्रकारलाई दिन भनेर सरकारले १९ करोड रुपियाँ मात्र १ प्रतिशत ब्याजमा दिएको थियोे । उक्त पैसा आफ्नो हितमा खर्च गरेर कर्मचारीलाई भने नदिएपछि पीडित कर्मचारी आक्रोशित बनेका हुन् ।
