नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ माघ ।


पाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो बन्ने गरी लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
आइतबार सिंहदरबारमा आयोजित राष्ट्रियसभा संसदीय दलको बैठकमा उहाँले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गर्नुका साथै सबै पक्षलाई समेट्नेगरी प्रतिनिधिसभा उम्मेदवार चयन गरिएको भन्दै अब पार्टीको पक्षमा माहोल बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रत्यक्ष र समानुपातिक उम्मेदवार चयन गर्दा जनमत, कार्यक्षमता र छविलाई आधार बनाइएकाले निर्वाचनमा राम्रो नतिजा आउनेमा आफू विश्वस्त रहेको संयोजक दाहालको भनाइ थियो ।
संयोजक दाहालले जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा सकारात्मक बनेको बताउनुभयो ।
बैठकले बेदुराम भुसाललाई राष्ट्रियसभा संसदीय दलको नेता नियुक्त गरेको छ । यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गङ्गा बेलवासेलाई नियुक्त गरिएको छ ।
दलका नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेपछि नयाँ नेतृत्व चयन गरिएको पार्टीले जनाएको छ ।

