आगामी निर्वाचन : अरूलाई लाञ्छित गर्नुभन्दा आफ्ना एजेण्डा राख्ने कि !

आगामी निर्वाचन नजिकिँदै गर्दा पुराना दलका नेताहरू मतदातासामु प्रस्तुत हुन सक्ने ठोस एजेण्डा र विगतका उपलब्धि दुवैको अभावमा देखिन्छ। जनताले सुन्न चाहेको कुरा के हो भन्नेबारे उनीहरूमा कुनै स्पष्टता छैन। त्यसैले उनीहरूको राजनीतिक रणनीति नयाँ र अपेक्षाकृत सशक्त देखिएका उम्मेद्वारलाई मनोगत रूपमा लाञ्छित गर्ने, कपोकल्पित आरोप लगाउने र गालीगलौजमा उत्रनेमै सीमित भएको छ। गालीलाई आफ्ना  कमजोरीहरू ढाकछोप गर्ने अस्त्र बनाइँदै छ । सक्षम नेताले गाली होइन, जनतासामु एजेण्डा प्रस्तुत गर्ने हो । एजेण्डा  पूरा गर्नका लागि अवसर माग्ने हो । तर नेपालमा यस्तो यो संस्कृतिको विकास हुनै सकेन ।

इतिहासले देखाइसकेको तथ्य के हो भने जोसँग देखाउने उल्लेखनीय काम र प्रभावकारी उदाहरण हुँदैन, उसले आफू कमजोर छैन भन्ने देखाउन चर्का शब्द र गालीगलौचको प्रयोग गर्ने हो। अहिले भइरहेको आरोप प्रत्यारोप आफू वैचारिक रूपमा खाली हुनुको परिणाम् हो । नेकपा एमाले र नेपाली काङ्ग्रेस लगायतका शीर्ष नेताहरूको पछिल्लो बर्बराहट यही मनोवैज्ञानिक रोगबाट ग्रसित छ ।

नयाँ भनिएकाहरूले अहिलेसम्म शासनसत्तामा रहेर काम देखाउन पाएका छैनन् । उनीहरूसँग मतदातालाई देखाउने भनेको सपना, प्रतिबद्धता र वैकल्पिक दृष्टिकोण मात्र हो। परिणाम नआउञ्जेल सपनामाथि शंका गर्नु स्वाभाविक पनि हो। तर यहाँ स्मरणीय के छ भने पुराना दलहरूले पनि विगतमा सपनाको कमी देखाएका थिएनन् l समृद्धि, सुशासन, रोजगारी र विकासका ठूला–ठूला वाचा गरिएको थियो। तर दशकौँ बितिसक्दा पनि परिणाम शून्य रह्यो। त्यसैले नयाँलाई प्रश्नवाचक दृष्टिले हेर्नु जति स्वाभाविक हो, पुरानामाथि अविश्वास गर्नु त्यति नै जायज हो।

अझ प्रष्ट रूपमा भन्नुपर्दा, पुराना दलका नेताहरू लामो समय शासनसत्ताको शीर्ष तहमा बसेर पनि नेपाली जनताले तिरेको करलाई पारदर्शी र उत्पादनशील रूपमा प्रयोग गर्न असफल भए। विकासभन्दा बढी भ्रष्टाचार, संस्थागत कमजोरी र राज्यस्रोतको दुरुपयोग नै उनीहरूको साझा परिचय बन्यो। पटक–पटक परीक्षण भइसकेका यिनै पात्रबाट अझै देश विकासको अपेक्षा गर्नु भनेको पानीलाई उमालेर बाक्लो बनाउँछु भन्नुजस्तै हो। नयाँले अपेक्षाअनुसार काम गर्न सकेनन् भने पनि, कम्तीमा पुरानाले जति क्षति त देश र जनताका पक्षमा गर्ने छैनन् भन्ने विश्वास गर्ने आधार भने प्रशस्त छ। शंका गर्नु राम्रो हो, तर शंकामै अड्किएर समाधान खोजिँदैन।

विश्व राजनीतिमा हेर्ने हो भने, इच्छाशक्ति र संकल्पले कति ठूलो परिवर्तन सम्भव हुन्छ भन्ने उदाहरण अफ्रिकी मुलुक बुर्किना फासोमा देख्न सकिन्छ। सन् २०२२ मा ३४ वर्षे सैनिक अधिकृत इब्राहिम ट्राओरे सैन्य कू मार्फत सत्तामा आए। न उनको लामो राजनीतिक अनुभव थियो, न सत्तामा पुग्नुअघि कुनै स्थापित शक्ति संरचना नै। लामो समय फ्रान्सको उपनिवेश रहेको, गरिबी, भोकमरी र अशिक्षाले ग्रस्त मुलुकलाई उनले छोटो समयमै आत्मनिर्भरता, राष्ट्रिय स्वाभिमान र राज्यको सक्रिय भूमिकातर्फ उन्मुख गराए। तीन वर्ष नपुग्दै कृषि उत्पादन बढाउने, विदेशी निर्भरता घटाउने, राज्य नियन्त्रण बलियो बनाउने र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने प्रयासहरूका कारण उनी विश्वस्तरमै चर्चामा छन्। यसले के देखाउँछ भने देश विकासका लागि अनुभवभन्दा ठूलो कुरा दृढ इच्छाशक्ति हो।

विडम्बना के छ भने नेपालमा भने विगत ३४-३५ वर्षदेखि शासनसत्तामा रहेका, चार-पाँच पटकसम्म प्रधानमन्त्री भइसकेका नेताहरू आज पनि देश विकास नहुनुको दोष अरूमाथि थोपर्दैछन्। नयाँ पुस्ताले “अब हामी केही गर्छौं, तपाईंहरू आराम गर्नुस्” भन्नासाथ उनीहरू अनेक बहाना खोजेर भाँजो हाल्न थाल्छन्। यत्रो समय सत्तामा बसेर पनि देखाउन बाँकी के नै छ उनीहरूसँग ? यदि उनीहरूले गर्न सक्ने नै भए मुलुकका यतिका दशक किन खेर गए त ?

त्यसैले आजको प्रश्न नयाँले तुरुन्तै चमत्कार गर्छन् कि गर्दैनन् भन्ने होइन, प्रश्न पुरानाले अब पनि अवसर पाउनुपर्ने कुनै नैतिक वा व्यवहारिक आधार बाँकी छ कि छैन भन्ने हो। परिवर्तन सधैँ जोखिमसहित आउँछ, तर स्थायित्वको नाममा असफलतालाई दोहोर्‍याउनु झन् ठूलो जोखिम हो। मुलुकमा परिवर्तन गर्ने हो भने  अब नेपाली मतदाताले डरले होइन, विवेक र साहसका आधारमा निर्णय गर्ने बेला आएको छ। अबको मुलुकको गन्तव्य निराशाको अँध्यारोबाट समृद्धि र सन्तुष्टिको उज्यालोतिरको हुनुपर्छ ।

सम्बन्धित समाचार