शरद् शर्मा
बर्दिया (ठाकुरद्वारा), १३ माघ ।


प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यतिबेला बर्दिया राष्ट्रिय निकुञ्ज भइरहेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले बर्दिया राष्ट्रिय निकुञ्ज र विश्व वन्यजन्तु कोषको सहयोगमा बाघको गणना गरिरहेको छ । अहिले बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका दुई वटा ब्लकमध्ये एउटा ब्लकको सकाएर दोस्रो ब्लकअन्तर्गतका क्षेत्रमा बाघ गणना भइरहेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाफ्ले यही माघ ९ गतेदेखि दोस्रो ब्लकअन्तर्गतका ग्रिडमा क्यामेरा जडान गरी बाघ गणना सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार दोस्रो ब्लकमा रहेका १७९ ग्रिडमा ३५८ वटा क्यामरा जडान गरी बाघ गणना सुरु गरिएको छ ।
सन् २०२२ को तथ्याङ्कअनुसार निकुञ्जमा बाघको सङ्ख्या १२५ वटा रहेका थिए । नेपालमा बर्दिया राष्ट्रिय निकुञ्जसँग चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना हुने गर्दछ ।
कोषले बर्दिया राष्ट्रिय निकुञ्जसँग बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने बाँके र दाङमा चार वटा ब्लकमा बाघ गणना गर्ने गर्दछ । कोषले बर्दिया राष्ट्रिय निकुञ्जको पहिलो चरणका पहिलो ब्लकमा २२५ वटा ग्रिडको क्यामेरा राख्ने काम सम्पन्न गरिसकेको छ ।
पहिलो ब्लकअन्तर्गत कोषले बर्दियाको चिसापानी पोष्ट, गैडामचान, भुरीगाउँ, रम्बापुर, थुमेनी, ओखरीलगायतमा ४५० वटा क्यामेरा जडान गरिएको थियो । पहिलो ब्लकमा भने बाघ गणना गत पुस ९ गते सुरु भएको थियो ।
एउटा ब्लकमा आठवटा क्याम्प हुने गर्दछ । तीमध्ये दोस्रो ब्लकमा रहेका पाँच वटा क्याम्प बर्दिया राष्ट्रिय निकुञ्जभित्र नै पर्ने गर्दछ । ती क्याम्पमध्ये बर्दियाका पूर्वीचिसापानी, गुठी शिवपुरी, लामिदमार, वेतनीलगायत ठाउँमा क्यामरा जडान गरी बाघको गणना गर्ने काम भइरहेको छ ।
अन्य तीनवटा क्याम्प भने बाँकेमा हात्तीदमार, ढकेरी र खड्गवारमा पर्ने गर्दछ । ती ठाउँमा पनि क्यामेरा जडान गरि बाघ गणना भइरहेको कोषका बर्दिया प्रमुख तुम्बाहाफ्ले जानकारी दिनुभयो ।
क्यामेरा बाघ बढी ओहोरदोहोर गर्ने ठाउँ, पानीको मुहान, अन्य जनावरको हिड्ने वाटो, बाघको दिसा र पाइला भएको ठाउँमा राख्ने गरिन्छ । बाटोमा दायाँबायाँ बाघको फोटो खिच्ने गरी दुई वटा क्यामेरा जडान गरिन्छ । क्यामेरा जडान भएको २१ दिनमा क्यामरा झिकिन्छ ।
दोस्रो ब्लक सकेपछि लगतै तेस्रो ब्लकमा क्यामरा जडान गरिने उहाँको भनाइ रहेको छ । तेस्रो ब्लकमा बाँके राष्ट्रिय निकुञ्जमा र चौथो ब्लक बाकेका केही ठाउँसहित दाङमा पर्ने गर्दछ । तेस्रो ब्लकअन्तर्गत बाँके राष्ट्रिय निकुञ्जसहित ‘बफर जोन’ र राष्ट्रिय वनमा यही माघ २९ गतेदेखि सुरु हुनेछ ।
आठ वटा क्याम्पमा रहेको उक्त क्षेत्रमा १८९ ग्रिडमा ३७८ क्यामेरा राखिनेछ । एउटा क्याम्पसमा सात जनाको टोली रहेको हुन्छ । उक्त टोलीमा कोषका प्राविधिकसहित निकुञ्ज कर्मचारीले क्यामेरा निगरानीमा राखेका हुन्छ ।
ती क्यामेराले राखेपछि फोटो खिचे नखिचेको अनुगमन ती टोलीले गर्ने गरेको कोषका प्रमुख तुम्बाहाम्फेले जानकारी दिनुभयो । सन् २०२२ को रिर्पोटअनुसार बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेका छन् । प्रत्येक ग्रिडमा १५ रात क्यामरा राख्नुपर्ने विश्व वन्यजन्तु संरक्षणको मापदण्ड रहेको छ । त्यसमा तीन दिन क्यामेरा राख्न र दुईदिन क्यामरा झिक्न समय लाग्ने गर्दछ । त्यसपछि क्याम्प सार्ने काम एक दिनमा हुन्छ ।
यस्तै बाँके राष्ट्रिय निकुञ्जपछि आगामी प्रतिनिधिसभाको निर्वाचनपछि चौथो ब्लकअन्तर्गत बाँकेको केही क्षेत्र र दाङमा बाघ गणनाको काम सुरु गर्ने उहाँले बताउनुभयो । ती क्षेत्रमा १७८ ग्रिडका लागि ३५६ क्यामेरा जडान गरिने बताउनुभयो । उक्त क्षेत्रमा दुई वर्षअघि गरिएको बाघ गणनामा ११ वटा बाघ भेटिएका थिए ।
यसपटक ताल क्षेत्रमा पनि गणना गरिने
राष्ट्रिय प्रकृति संरक्षण कोषका बर्दियाका प्रमुख तुम्बाहाफ्लेका अनुसार यसपटक दाङ जिल्लाको बाँके निकुञ्जको क्षेत्रसँगै ताल क्षेत्रमा पनि बाघ गणना गरिने छ ।
“चार वर्षको अन्तरालमा बाघले मान्छे मारेको, बाघको मुभमेन्टको अवस्था हेरेर यसपटकदेखि डिजिभन बन क्षेत्र लगायत ताल क्षेत्रमा बाघ गणना हुने छ”, उहाँले भन्नुभयो, “दुई वर्ष अगाडि दाङमा विश्व वन्यजन्तु संरक्षणले ताल क्षेत्रमा बाघ सर्भे भएर भेटिएको भन्ने छ । त्यहीअनुसार हामीले यसपटक क्यामरा जडान गरेर बाघ गणना गर्न थालेका हौँ ।”
क्यामेराबाट चिप्स सङ्कलन गरेर गणना
अहिले क्यामरा राखेका ठाउँमा तीन/चार दिनको अन्तरालमा क्यामेरामा रहेको चिप्सको डाटा सङ्कलन गर्ने र फेरि पनि चिप्ल राख्ने गर्दछ । ब्लकअनुसार ती चिप्सबाट झिकिएका फोटोलाई फोल्डर बनाएर राख्ने गर्दछौँ र त्यसपछि प्रत्येक बाघको पाटा छुट्टाउनुपर्ने हुन्छ । र त्यसरी पाटाको आधारमा बाघको सङ्ख्या यकिन गरेपछि बाघ दिवस जुलाई २९ का दिन बाघको सङ्ख्या सार्वजनिक हुनेछ ।
कोषको प्राविधिक टीकाराम थारुले एउटा ग्रिडमा दुई वटा क्यामरा जडान गरी बाघ धेरै ओहोरदोहोर गर्ने ठाउँमा राखिएको बताउनुभयो । “बाघ धेरै ओहोरदोहोरा गर्ने ठाउँमा क्यामेरा हामीले जडान गरेका हुन्छाँ”, उहाँले भन्नुभयो, “यसरी जडान गरिएको क्यामराको चिप्स तीन वा चार दिनमा हामीले निकाल्छौँ । अर्को फेरि क्यामेराको चिप्स राख्छौँ ।”
प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदीले चितवन राष्ट्रिय निकुञ्जमा पनि दोस्रो ब्लकमा बाघ गणनाका लागि क्यामेरा जडानको काम सम्पन्न भएको बताउनुभयो । सन् २०२२ को तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ रहेका थिए ।
उहाँका अनुसार चितवनमा बाघ गणनाको काम सकिएपछि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघको गणना चाँडै नै सुरु गर्ने बताउनुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एउटा मात्र ब्लक रहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा बाघ रहेका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा सुवेदी क्यामेराको राखिएको ठाउँबाट बाघ हिँड्दा तस्बिर खिच्ने र सोही क्यामराले बाघको तस्बिर खिचेको आधारमा बाघको गणना गरिने बताउनुभयो ।
“क्यामेराले खिचेको तस्बिरको आधारमा हामीले बाघको पेटको पाटा हेर्छौँ, एउटा बाघको पेटको पाटा अर्को बाघसँग मेल खाँदैन । एउटा बाघको पुच्छर अर्को बाघको पुच्छर पनि मेल खाँदैन । त्यही आधारमा बाघको गणना गरिन्छ”, उहाँले भन्नुभयो ।
सबै ठाउँबाट क्यामेराले खिचेको तस्बिरलाई एकठाउँमा ल्याएर विश्व बाघ दिवसको अवसरमा कोषले नेपालमा रहेका बाघको सङ्ख्या सार्वजनिक गर्ने कोषका सदस्य सचिव डा सुवेदी जानकारी दिनुभयो । नेपालमा सन् २००९ बाट बाघ गणना हुन थालेको हो ।(रासस)
