नवकान्तिपुर संवाददाता
धुलिखेल, १९ माघ ।


काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका केन्द्र देवीटारदेखि तराईको बारा जिल्लाको निजगढसम्म नियमित यात्रुवाहक बस सेवा सञ्चालन भएको छ ।
सो क्षेत्रका बासिन्दालाई दैनिक जीवनमा सहजता प्रदान गर्नका लागि जिल्लाको विकट डाँडापारि क्षेत्रलाई तराईसम्म जोड्ने उद्देश्यले बस सेवा सञ्चालनमा ल्याएको हो ।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले आइतबार महाभारत गाउँपालिकाको केन्द्र देवीटारबाट तराई जाने यात्रुलाई खादा ओढाएर बस सेवा शुभारम्भ गर्नुभएको हो ।
आइतबारदेखि महाभारतको देवीटारबाट घर्तिछाप, गोकुले, तालढुङ्गा, भोर्लेनी, झुझुरे, हरिहरपुर गाउँपालिकाको बक्फर, बागमती र चपुर हुँदै निजगढसम्म काभ्रे बस प्रालिले बस सेवा सञ्चालनमा ल्याएको हो ।
गाउँपालिका अध्यक्ष जिम्बाले पछिल्लो समयमा जिल्लाको महाभारत गाउँपालिकाका नागरिकलाई दैनिक जीवन बनाउन देवीटारदेखि बागमती प्रदेशको हेटौँडासम्म नारायणी यातायातको बस सेवा सञ्चालन हुँदै आएकामा आजदेखि देवीटारदेखि निजगढसम्म नै बस सेवा सञ्चालनमा आएको बताउनुभयो । विगतमा बस चढ्न दाप्चा, पनौती र बनेपा धुलिखेल नै पुग्नुपर्ने अवस्था थियो ।
काभ्रेको महाभारतबाट जिल्ला सदरमुकाम धुलिखेल बनेपासम्म दैनिक छ÷सातवटा यात्रु बस सञ्चालन हुँदै आएका छन् । पछिल्लो समयमा महाभारतबाट खानीखोलाको तालढुङ्गा हुँदै मकवानपुरको भोर्लेनी, हरिहरपुरगढीको बक्फर हँुदै बाराको निजगढसम्म बस सञ्चालनमा ल्याउनु यहाँका नागरिकका लागि निकै खुसीको क्षण भएको बताउनुभयो ।
काभ्रे बस प्रालिका अध्यक्ष बर्ण शाक्यले विगतमा बस सञ्चालनका लागि उचित मोटरबाटो, सञ्चारका लागि मोबाइल सेवाको सञ्चार सम्पर्क नभएको र विद्युत् सेवा नभएर अनकन्टार जस्तै देखिएको काभ्रेको कर्णालीका रुपमा चिनिने महाभारत अहिले यसरी विभिन्न सेवासहित बस सञ्चालन गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो ।
