नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ माघ ।


उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रको आधिकारिक समाचार संस्थाका रूपमा स्थापित राष्ट्रिय समाचार समिति (रासस)ले लोकतान्त्रिक प्रतिस्पर्धाको युगमा सोहीअनुरुप आफूलाई क्रियाशील राखेको बताउनुभएको छ ।
राससका पदाधिकारीहरुले सोमबार उहाँसँग गर्नुभएको भेटवार्तामा कार्यवाहक राष्ट्रपतिसमेत रहनुभएका उपराष्ट्रपति यादवले सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र भरपर्दो सूचना तथा समाचार प्रवाह गरी जनतालाई सुसूचित गराउने जिम्मेवारी राससको रहेको बताउनुभयो ।
उपराष्ट्रपति यादवले समय परिवर्तनसँगै राससको दायित्व र भूमिका अझै बढेको बताउँदै परिवर्तित सन्दर्भमा विश्वसनीय समाचारको प्रमुख स्रोतका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीयता कार्यान्वयन र समावेशीतालाई उच्च महत्व दिँदै राससले आफ्नो सेवाहरूलाई समयसापेक्ष परिमार्जन र विविधीकरण गर्दै लगेकामा खुसी व्यक्त गर्नुभयो ।
सो अवसरमा उपराष्ट्रपति यादवले राससले पछिल्लो समय कार्यान्वयनमा ल्याएका सेवाहरुबारे जानकारी लिनुभएको थियो । भेटमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सन्दीप राई, सञ्चालक समिति सदस्य कृष्ण अधिकारी र प्रशासन प्रमुख शीतलप्रसाद महतो सहभागी हुनुहुन्थ्यो ।
