नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ माघ ।


ओखलढुङ्गामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बनेको छ । विशेषतः उम्मेदवार चयनकै कारण एमालेभित्र देखिएको असन्तुष्टि र विद्रोहले जिल्लाको परम्परागत राजनीतिक समीकरण नै फेरिने संकेत देखिएको छ ।
पार्टीको जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवारहरूलाई पाखा लगाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई राजीनामा गराएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएपछि एमाले ओखलढुङ्गामा गहिरो संकटमा फसेको हो ।
जिल्ला कमिटीले वरिष्ठ नेता ईश्वर पोखरेल, पूर्वसांसद यज्ञराज सुनुवार, पूर्वप्रदेश सांसद तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, नानीबाबु बढाथोकी र ज्ञानबहादुर खड्काको नाम सिफारिस गरेको थियो । तर ती सबैलाई बेवास्ता गर्दै टिकट वितरण भएपछि एमालेभित्र चुलिएको आक्रोश अहिले खुला विद्रोहमा परिणत भएको छ ।
यही विद्रोहको प्रत्यक्ष लाभ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले लिइरहेका छन् । विगतमा एमाले र काँग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने गरेको ओखलढुङ्गामा यसपटक गुरुङको पक्षमा बलियो चुनावी माहोल बनेको स्थानीय बताउँछन् ।
टिकटका स्वाभाविक दावेदार हुँदाहुँदै गुरुङलाई पन्छाएर पार्टीभित्रै प्रतिस्पर्धामा नरहेकी बहालवाला गाउँपालिका उपाध्यक्षलाई उम्मेदवार बनाएपछि एमालेमा ‘पहिरो’ नै गएको देखिन्छ ।
परिणामस्वरूप एमालेको आधाभन्दा ठूलो हिस्सा र जनता समाजवादी पार्टी (जसपा)समेत गुरुङको पक्षमा उभिएको छ । एमाले र काँग्रेस दुवै दलभित्रको आन्तरिक असन्तुष्टिका कारण गुरुङलाई निर्वाचन जित्न सहज हुने आँकलन गरिएको छ ।
एमालेभित्रको असन्तुष्टि यति गहिरो भयो कि सिंगो जिल्ला कमिटी नै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । एमाले जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा ‘किसान’, उपसचिव राजीव कटुवाल, प्रदेश कमिटी सदस्य सुरेश थापा र जगत लुइँटेल, युवा संघका केन्द्रीय सदस्य प्रचण्ड खड्कासहित ३८ जना पदाधिकारी एमाले छाडेर नेकपामा प्रवेश गरिसकेका छन् ।
सोमबार मात्रै मोलुङ गाउँपालिकाका दुई जना वडाध्यक्षसहित दर्जनौँ प्रभावशाली नेता तथा कार्यकर्ता एमाले छाडेर नेकपामा प्रवेश गरेका छन् । एमाले जिल्ला लेखा आयोगका अध्यक्ष मोहन ढकाल, मोलुङ गाउँपालिका–१ का वडा अध्यक्ष कमलबहादुर बानियाँ र वडा नम्बर ६ का वडा अध्यक्ष कमल तामाङ पनि गुरुङलाई जिताउने उद्देश्यसहित नेकपामा समाहित भएका हुन् ।
यसैगरी गाउँ कार्यपालिकाका सदस्य भक्तबहादुर सुनुवार र धिरज नौभाज तथा जिल्ला कमिटी सदस्य सञ्जय खत्री र सुमन दाहाल पनि नेकपामा प्रवेश गरेका छन् । निर्वाचन अभियानको मुख्यमै खटिनुपर्ने प्रमुख नेताहरू नै गुरुङसँगै नेकपामा प्रवेश गरेपछि एमाले ओखलढुङ्गामा पूर्ण रूपमा रक्षात्मक अवस्थामा पुगेको छ ।
अम्बिरबाबु गुरुङ ओखलढुङ्गामा विकासप्रेमी नेताका रूपमा परिचित छन् । कोशी प्रदेशसभा सदस्य तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएका बेला उनले जिल्लामा १० अर्ब रुपैयाँभन्दा बढीका योजनामा बजेट सुनिश्चित गराएको बताइन्छ ।
सडक पूर्वाधार, सहरी विकास तथा आवास, खानेपानी र सिँचाइ, पर्यटन तथा खेलकुद क्षेत्रमा उनले ल्याएका करोडौँ बजेटले उनको विकासवादी छवि मजबुत बनाएको स्थानीयको भनाइ छ ।
यही कारण २०७४ सालको प्रदेशसभा निर्वाचनमा गुरुङले १८ हजार ९०८ मतसहित सहज जित हासिल गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका मित्रसेन दाहालले ११ हजार ९०६ मत मात्र पाएका थिए भने मतान्तर ७ हजारभन्दा बढी थियो ।
तीन वर्षअघि भएको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले ७ हजार १७२, जनता समाजवादी पार्टीले १ हजार ४५० र एकीकृत समाजवादीले ४३० मत ल्याएका थिए । यसरी हेर्दा नेपाली कम्युनिस्ट पार्टीसँग मात्रै ९ हजारभन्दा बढी संगठित मत रहेको देखिन्छ ।
अघिल्लो निर्वाचनमा एमालेले ल्याएको २५ हजार मत पनि यिनै प्रभावशाली नेताहरूको सक्रियताका कारण सम्भव भएको स्थानीय विश्लेषण छ । यसपटक ती नेताहरू नै नेकपातर्फ उभिँदा एमालेको ठूलो मतभार गुरुङको पक्षमा सरेको आंकलन गरिएको छ ।
यता काँग्रेसभित्र पनि असन्तुष्टि कायमै छ । लामो समयदेखि रामहरि खतिवडा उम्मेदवार बन्दै आएका ओखलढुङ्गामा यसपटक काँग्रेसले कुमार लुइँटेललाई उम्मेदवार बनाएको छ । केन्द्रमा पहुँच भएका खतिवडाको सट्टा नयाँ उम्मेदवार ल्याइएपछि काँग्रेसभित्र देखिएको असन्तुष्टिले पनि अम्बिरबाबु गुरुङको पक्ष अझ बलियो बन्दै गएको स्थानीयको बुझाइ छ ।
सबै राजनीतिक घटनाक्रमलाई हेर्दा यसपटक ओखलढुङ्गामा परम्परागत शक्ति सन्तुलन बदलिने संकेत प्रष्ट देखिएको छ, जहाँ अम्बिरबाबु गुरुङ चुनावी प्रतिस्पर्धामा सबैभन्दा बलिया उम्मेदवारका रूपमा उदाएका छन् ।
