नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ फागुन ।


लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिले राजनीतिक दलले आफ्नो हक र अधिकारप्रति चासो नदेखाएका कारण राजनीतिक दल खोल्नु परेको बताउनुभएको छ ।
मायाको पहिचान संस्थाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा समावेशी समानुपातिक पार्टीका उम्मेदवारहरुले यस्तो बताउनुभएको हो । संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको समानुपाति प्रतिनिधित्वको कुरा लेखिए पनि कुनै पनि राजनीतिक दलले यसलाई आत्मसात नगरेको उहाँहरुको गुनासो छ ।
पार्टीबाट देशभर ६ जनाले प्रत्यक्षमा उम्मेदवारी दर्ता गरिसक्नुभएको ओखलढुङ्गा क्षेत्र नं १ का उम्मेदवार पिङ्की राईले बताउनुभयो । उहाँले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका विषयमा संविधानमा लेखिएका अधिकार नै कार्यान्वयन हुन नसेको गुनासो गर्दै आफू सांसद भएपछि त्यसकै पक्षमा वकालत गर्ने बताउनुभयो ।
काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवार सुरेन्द्र पाण्डेले राजनीतिकले समलिङ्गीलाई भोट बैंक बनाउने तर, उनीहरुको अधिकार संरक्षणमा कुनै पनि कदम नचालेको गुनासो गर्दै आफू बाध्यताबस राजनीतिमा होमिनु परेको सुनाउनुभयो ।
उहाँ समलिङ्गी विवाह गर्ने पहिलो नेपाली हुनुहुन्छ । मान्छे मान्छेसँग विवाह गर्न पाउने अधिकार सजिलै नपाएको सङ्घर्ष सुनाउदै उहाँले यस्ता थुप्रै कानुनी अभावले गर्दा समलिङ्गीले कष्ट झेल्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी कहिलेसम्म विभेदको भूमरिमा परिरहने ? अब आफ्नो लागि आफै आवाज उठाउछौँ । संसद्मा पुग्छौँ ।”
उक्त पार्टीका प्रवक्ता प्रतिक्षा चापागाईँले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय देशभर रहेको तर, उनीहरुको पहिचान खुलेर आउन नसक्दा मतदाताको पहिचान अन्योलमा परेको बताउनुभयो ।
उहाँले राजनीतिक पार्टीलाई पटक–पटक आफ्ना समुदायले जिताए तर, समुदायको अवस्था जहाँको त्यही रहेको प्रष्ट पार्नुभयो । पार्टीबाट समानुपातिकमा उम्मेदवार दिनुभएका चापागाईंले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अस्थित्व छ, भनेर बुझाउन पनि राजनीतिक पार्टी खोल्नु परेको सुनाउनुभयो ।
मायाको पहिचान संस्थाका कार्यकारी निर्देशक एवं संविधानसभा सदस्य सुनिलबाबु पन्तले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायको अस्थित्वलाई राजनीतिक दलले आत्मसात् गर्न नसकेको बताउनुभयो ।
जसले गर्दा यो समुदाय सधैँ राज्यको पहुँचदेखि पर रहेको छ । उहाँले राजनीतिक नै समाजको रुपान्तरण भएकाले राजनीतिबाटै समुदाय अस्थित्व पहिचान गर्ने अभियानमा लागेको बताउनुभयो ।
