ओखलढुंगामा एमालेभित्र अविश्वास चर्किंदै जाँदा अम्बिरबाबु गुरुङतर्फ जनआकर्षण बड्दै

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा ओखलढुंगामा राजनीतिक माहोल दिनप्रतिदिन तातिँदो छ। जिल्लामा बलियो संगठन मानिँदै आएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको आन्तरिक असन्तुष्टि सतहमै देखिन थालेपछि एमालेबाटै विद्रोह गरेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका अम्बिरबाबु गुरुङको पक्षमा जनसमर्थन बढ्दो देखिएको छ।

टिकट विवादपछि चर्कियो असन्तुष्टि

पार्टीले जिल्लाका पुराना र स्थापित नेताहरूलाई बेवास्ता गर्दै गाउँपालिका उपाध्यक्ष रहेकी अस्मिता थापालाई उम्मेदवार बनाउने निर्णयपछि एमालेभित्र असन्तुष्टि चुलिएको बताइन्छ। सोही असन्तुष्टिको पृष्ठभूमिमा गुरुङसहित नेतृत्वको एक समूह नेकपामा प्रवेश गरेको थियो। एमालेको जिल्ला कमिटीका धेरै सदस्यहरूले खुला वा मौन रूपमा गुरुङलाई साथ दिएको चर्चा छ।

विकासप्रेमी छविको फाइदा

पूर्व प्रदेश सांसद तथा मन्त्री रहँदा जिल्लामा विभिन्न विकास आयोजनाहरू अघि बढाएका गुरुङले आफूलाई “विकासप्रेमी नेता” का रूपमा स्थापित गरेका छन्। स्थानीय तहदेखि प्रदेशसम्म सडक, पूर्वाधार र सामाजिक क्षेत्रमा पहल गरेको दाबी उनका समर्थकहरूको छ। यही पृष्ठभूमिका कारण विद्रोहपछि पनि एमालेभित्रकै एक हिस्साले गुरुङप्रति नरम धारणा राखेको बताइन्छ।

फर्किएका नेताप्रति कार्यकर्ताको सशंकित दृष्टि

यता एमालेका पूर्व जिल्ला अध्यक्ष शंकर कटुवालसहित केही नेताहरू पुनः एमालेमै फर्किएका छन्। कटुवाल विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी सँग निकट रहेको चर्चा थियो। उनी अध्यक्ष रहँदा पार्टीभित्र विभाजन बढेको, स्थानीय र संघीय निर्वाचनमा अपेक्षित परिणाम नआएको आरोपसमेत लाग्दै आएको छ।

त्यस्तै, सीताराम गुरुङ पनि केही समय नेकपामा सक्रिय रहेपछि एमालेमै फर्किएका छन्। लगातार पार्टी परिवर्तन गर्ने प्रवृत्तिले कार्यकर्तामाझ विश्वासको संकट उत्पन्न भएको एमालेकै नेताहरू स्वीकार्छन्। “अवसरअनुसार पार्टी रोज्ने प्रवृत्तिले संगठन कमजोर बनाएको छ,” एमालेका एक स्थानीय नेताले नाम नखुलाउने सर्तमा बताए।

नेकपा एकढिक्का, एमालेमा निस्क्रियता

एमालेभित्रको गुटबन्दी र अन्योलताका कारण कार्यकर्ता पंक्ति निस्क्रियजस्तै बनेको आरोप छ। यसको विपरीत नेकपा भने एकढिक्का भएर प्रचारप्रसारमा जुटेको देखिन्छ। यही कारण गुरुङको पक्षमा माहोल बलियो बन्दै गएको विश्लेषण स्थानीय राजनीतिक वृत्तमा भइरहेको छ।

विकास एजेण्डासहित मैदानमा

अम्बिरबाबु गुरुङले जिल्लाको समग्र विकासलाई प्राथमिकतामा राख्दै स्पष्ट एजेण्डासहित चुनावी मैदानमा उत्रिएको बताएका छन्। विशेषगरी रुम्जाटार विमानस्थल को नियमित सञ्चालन, स्तरोन्नति तथा फ्युल सेन्टर स्थापना गरी पूर्वी पहाडी र हिमाली जिल्लाको ‘लाइफलाइन’ का रूपमा विकास गर्ने उनको मुख्य योजना छ। पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनालाई समेत उनले प्राथमिकता दिएका छन्।

प्रतिस्पर्धी दल रक्षात्मक

जिल्लामा अन्य दलहरू पनि सक्रिय रहे तापनि एमालेभित्रको आन्तरिक द्वन्द्व र नेकपाको एकीकृत रणनीतिले चुनावी समीकरण बदलिन सक्ने आकलन गरिएको छ। विगतमा विकास निर्माणका कामलाई तीव्रता दिएको छवि, स्पष्ट भिजन र संगठनात्मक साथका कारण गुरुङले अग्रता लिइरहेको स्थानीय विश्लेषकहरूको भनाइ छ।

निर्वाचन मिति नजिकिँदै जाँदा ओखलढुंगाको राजनीतिक माहोल अझै रोचक बन्दै गएको छ। आगामी केही दिनको गतिविधिले जिल्लाको अन्तिम चुनावी समीकरण स्पष्ट पार्ने देखिन्छ।

सम्बन्धित समाचार