नवकान्तिपुर संवाददाता
धरान (सुनसरी), ११ फागुन ।


उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन कायम गर्दै परिणाममुखी कार्यशैली अपनाउन सके स्थायी विकास र समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।
सोमबार सुनसरीको पार्टीको निर्वाचन क्षेत्र नं १ मूल निर्वाचन परिचालन समितिद्वारा आयोजित चुनावी आमसभामा उहाँले अब भाषणभन्दा कामबाट परिणाम देखाउनुपर्ने र त्यही आवश्यकताबोध गरी पार्टी चुनावमा होमिएको बताउनुभयो ।
जलस्रोतको व्यवस्थापन नै देश समृद्धिको मुख्य आधार भएको उल्लेख गर्दै अध्यक्ष घिसिङले नदी तथा जलाधार व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । जलस्रोत व्यवस्थापनभित्र सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीलगायत विकासका महत्त्वपूर्ण क्षेत्र जोडिने भएकाले यसको एकीकृत योजना बनाएर अघि बढ्न आफूले ध्यान दिने बताउनुभयो ।
“देशका धेरै स्थानमा अझै ऊर्जाको पर्याप्त पहुँच छैन । कतिपय क्षेत्रमा अँध्यारो अवस्था छ । ऊर्जा विकास र वितरण प्रणाली विस्तार, लोडसेडिङ अन्त्य गर्दै देशलाई उज्यालोतर्फ लैजान वैकल्पिक राजनीतिक सोच आवश्यक ठानेर हाम्रो पार्टी चुनावमा आएको छ”, अध्यक्ष घिसिङले भन्नुभयो ।
यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई देश परिवर्तनको महत्त्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै उहाँले जनताले जिम्मेवारीपूर्वक सही नेतृत्व चयन गर्ने समय आएको बताउनुभयो ।
अध्यक्ष घिसिङले सही व्यक्ति, सही स्थानमा पुगे विकासले गति लिने उल्लेख गर्दै नेपाललाई अन्धकारबाट उज्यालोतर्फ लैजान पनि सक्षम नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो ।
अध्यक्ष घिसिङले सामाजिक न्याय स्थापना, विभेद तथा विसङ्गति अन्त्य, क्षमतामूलक समाज निर्माण तथा युवालाई स्वदेशमै रोजगारी सृजना गर्न सकेमात्र देशको अर्थतन्त्र आत्मनिर्भर बन्ने र त्यसका लागि आफ्नो पार्टीले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

