नवकान्तिपुर संवाददाता
महेन्द्रनगर (धनुषा), १४ फागुन ।


नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विमलेन्द्र निधिले नेपाली कांग्रेसको नयाँ नेतृत्वले लिएको दिशा र युवा पुस्ताको सक्रियता कांग्रेसका लागि महत्वपूर्ण अवसर भएको बताउनुभएको छ ।
जनकपुरधाममा सञ्चारकर्मीसँग बुधबार कुरा गर्दै नेता निधिले सभापति गगनकुमार थापाको नेतृत्वमा देखिएको युवा ऊर्जा र परिवर्तनको सन्देशलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्नुभयो । वर्तमान परिस्थितिमा नेपाली कांग्रेसमा नयाँ जोश, ऊर्जा र एकताको वातावरण देखिएको उहाँको भनाइ थियो ।
नेता निधिले फागुन ६ गते भएको आमसभा कांग्रेसका लागि सकारात्मक सङ्केत भएको बताउनुभयो । उहाँले कांग्रेसभित्र अहिले कुनै ठूलो विवाद वा मतभेद नरहेको समेत स्पष्ट गर्नुभयो ।
मधेशमा चुनावी गतिविधि तीव्र बन्दै जाँदा कांग्रेसले सङ्गठन विस्तार, घरदैलो कार्यक्रम र जनसम्पर्कलाई प्राथमिकतामा राखेको निधिले बताउनुभयो । “स्थानीय मुद्दा, विकासको एजेन्डा र राजनीतिक स्थायित्वको सन्देशसहित कांग्रेस चुनावी मैदानमा उत्रिएको छ”, उहाँले भन्नुभयो ।
