नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ फागुन ।


नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वाधिनता र जनताको आत्मसम्मान पार्टीको मुख्य उद्देश्य रहेको बताउनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टी, ललितपुर क्षेत्र नं. १ द्वारा शुक्रबार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले मुलुकमा विद्यमान सङ्कट समाधान गरी देश विकास र जनतालाई समृद्ध बनाउने सङ्कल्प पार्टीले लिएको बताउनुभयो ।
विगतका कमजोरी सच्याउँदै ‘नयाँ नेपाल’ निर्माण गर्ने प्रतिबद्धतासहित विभिन्न २६ वटा वामपन्थी र समाजवादी घटनाहरूबीच एकता भएको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिष्ट शक्तिहरूलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पार्टीले आत्मसात गरेका वैचारिक दृष्टिकोण तथा कम्युनिष्ट आदर्शका कारण अहिले पार्टीप्रति जनलहर बढेको बताउँदै उहाँले आसन्न निर्वाचनमा जनताले राम्रो मूल्याङ्कन गर्ने उल्लेख गर्नुभयो ।
पार्टीले आगामी पाँच वर्षभित्र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने गरी योजना निर्माण गरेको बताउँदै उहाँले त्यस कार्यक्रमबाट गरिबी १० प्रतिशतमा झार्ने सकिने र सामाजिक तथा आर्थिक रूपान्तरणका लागि १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताउनुभयो ।
राजनीतिक व्यवस्था बदलिए पनि जनताको जीवनस्तर नबदलिएको स्वीकार्दै उहाँले नेपाली विशेषताको समाजवाद कार्यान्वयन गरी प्रतिवर्ष एक लाख ५० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
