बिरेन्द्र श्रेष्ठ
काठमाडौं, १७ फागुन ।


अज्ञात यात्रीको डायरी बाट
लेख्न खोजेको धेरै भयो। मनमा शब्दहरू पनि कम छैनन्। तर ती शब्दहरू कागजमा झर्न खोज्दा कतै अड्किन्छन्। कहाँ रोकिएको छु म? कहाँ हराएको छु? बुझ्न सक्दिनँ। अल्छी भएर होइन, डरले पनि होइन—सायद समयले खडा गरिदिएको अदृश्य भित्ताहरूले मेरो कलम समातिरहेको छ।
अहिले विचारहरू कापीका पानामा भन्दा मोबाइलका स्क्रिनमा धेरै जन्मिन्छन्। तर त्यहाँ लेखिएका भावनाहरू मुटुले बोक्ने विश्वासभन्दा दिमागले गर्ने आक्रमणमा च्यातिन्छन्। आफूलाई सुन्न फुर्सद छैन, अरूलाई सुनाउन साहस छैन। यस्तो समय छ—जहाँ बोल्नु पनि जोखिम जस्तो लाग्छ र चुप लाग्नु पनि अपराध जस्तो।
दुख लेखे कमजोर ठान्छ दुनियाँ। खुशी लेखे देखावटी भन्छ। भावना लेखे पागलको संज्ञा दिन्छ। माया लेखे स्वार्थी देख्छ। अनुभव लेखे अहंकारी भन्छ। यस्तो मूल्याङ्कनको भीडमा कहिलेकाहीँ लाग्छ—सबै कुरा निरर्थक छ। तर फेरि मनको कुनै कुनाबाट आवाज आउँछ—निरर्थक केही पनि हुँदैन। निरर्थक देखिनु र हुनु फरक कुरा हो।
मानिस अनमोल जीवन बोकेर हिँडिरहेको छ, तर आफूभित्रको ‘आफू’ लाई चिन्न सक्दैन। बाहिरी दुनियाँको नक्कली उज्यालोमा भौंतारिँदा भित्री अँध्यारो गहिरिँदै जान्छ। आफूलाई खोज्न नसक्दा मानिस अरूको मान्यता खोज्न थाल्छ। प्रशंसा खोज्छ। स्वीकृति खोज्छ। तर आत्मस्वीकृति बिना प्राप्त गरिएका सबै स्वीकृतिहरू क्षणिक हुन्छन्।
आफूलाई माया गर्नु स्वार्थ होइन-स्वअर्थ बुझ्नु हो भन्ने बोध हुँदैछ। स्वअर्थ बुझ्नेले स्वधर्म चिन्छ। स्वधर्म निभाउनेले जीवनलाई अर्थ दिन्छ। तर यो यात्रा सजिलो छैन। ‘म’ र ‘मेरो’ को घेराबाट बाहिर निस्कन निकै कठिन छ। मोहको जाल यति सूक्ष्म छ कि कहिलेकाहीँ त्यसलाई चिन्नै सकिँदैन। ज्ञानीलाई पनि पार गर्न कठिन भनिएको त्यो मोहको जालमा अल्पज्ञानी म कसरी नफसूँ?
भ्रम हो भन्ने थाहा हुँदाहुँदै पनि मानिस भ्रममै बाँच्छ। संसार दौडिरहेको छ-धन, प्रतिष्ठा, सम्बन्ध र सफलताको नाममा। तर अन्त्यमा हात लाग्ने शून्यलाई स्वीकार्न कोही तयार छैन। मृत्यु सबैभन्दा ठूलो सत्य हो भन्ने जान्दा जान्दै पनि मानिस अस्थायी कुराहरूलाई स्थायी ठान्छ। सम्बन्धहरू गाँसिन्छन्, टुट्छन्, फेरि गाँसिन्छन्। तर मृत्युले सबै सम्बन्धलाई अन्ततः खरानी बनाइदिन्छ।
तर के त्यसैले सम्बन्ध झुटा हुन्? सायद होइन। सायद ती झुटा होइनन्, अस्थायी मात्र हुन्। अस्थायित्वलाई नै स्थायित्वको भ्रम मान्नु नै हाम्रो भूल हो। यदि अस्थायीलाई अस्थायी रूपमा स्वीकार्न सकियो भने, त्यही झुटो जस्तो देखिने जीवनभित्र पनि सत्यको आभास भेटिन सक्छ।
जीवनभित्र मृत्यु खोज्नेहरू छन्, मृत्यु भित्र जीवन खोज्नेहरू पनि छन्। यही द्वन्द्वबीच म उभिएको छु। कहिलेकाहीँ सबै कुरा व्यर्थ जस्तो लाग्छ, तर फेरि महसुस हुन्छ—यही व्यर्थताभित्र अर्थ लुकेको छ। शायद सत्य ठूलो उपलब्धि होइन, एउटा अनुभूति मात्र हो। जब मानिस आफूभित्र फर्किन्छ, आफ्नै अन्तरात्मासँग संवाद गर्छ, तब सत्यको झिल्को देखिन थाल्छ।
उर्बर जवानीमा गरिएका सत–असत कर्म, हतारमा लिएका निर्णय, पागलपनमा बगेर गरिएका प्रयास—यी सबै जीवनका पाठ हुन्। पछि गएर ती नै आत्ममन्थनका कारण बन्छन्। पश्चाताप र सन्तुष्टि दुवै मिलेर जीवनलाई गहिरो बनाउँछन्। समयसँगै बुझिन्छ—बाहिर जितेर केही हुँदैन, जबसम्म भित्र आफूलाई जित्न सकिँदैन।
आज संसार भ्रमभित्र बाँचिरहेको छ। त्यही भ्रमलाई सत्य मानेर दौडिरहेको छ। तर सायद यही दौड, यही खोज, यही पीडा र यही प्रश्नहरू नै जीवनका अनिवार्य अध्याय हुन्। सत्य कुनै बाहिरी वस्तु होइन, कुनै उपलब्धि होइन—त्यो त आफूभित्र लुकेको एउटा शान्ति हो।
अहिलेका लागि यति नै। यो पूर्ण सत्य होइन, पूर्ण निष्कर्ष पनि होइन—यो त केवल भ्रमभित्र सत्य खोज्ने एक प्रयास मात्र हो। सायद यही प्रयास नै जीवन हो।
क्रमशः…
