आगामी पाँच वर्ष विकास र सुशासनको समय हो : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष विकास र सुशासनको समय भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ र ६ ले आइतबार काठमाडौँमा आयोजना गरेको ‘बृहत् चुनावी सभा’लाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसले आगामी पाँच वर्ष विकास र सुशासनमा खर्च गर्न चाहेको बताउनुभएको हो ।

“संविधान बनेपछि कानुन बनाउनेभन्दा पनि सरकार बनाउने र टिकाउनेमा समय खेर गयो, आगामी पाँच वर्ष विकास र सुशासनका लागि समय खर्च गर्न चाहन्छौँ,” उहाँले भन्नुभयो ।

आगामी दिनमा सुशासन कायम गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरिने उहाँको भनाइ थियो । सभापति थापाले घरजग्गा कारोबार, शेयर कारोबार, ठूला उद्योग सञ्चालन नहुँदा देशको अर्थतन्त्र चलायमान हुन नसकेको बताउनुभयो । कांग्रेसले वार्षिक १० लाख आयआर्जन गर्ने व्यक्तिलाई कर छुट दिने नीति लिएको उल्लेख गर्नुभयो ।

सभापति थापाले उत्तेजना र घृणाको राजनीतिलाई काठमाडौँ उपत्यकाका जनताले विश्वास नगर्ने र आगामी निर्वाचनमा विवेकको प्रयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ मा पार्टीका महामन्त्री प्रदीप पौडेल र क्षेत्र नं ६ मा कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँ उम्मेदवार हुनुहुन्छ ।

सम्बन्धित समाचार