सामाजिक अभियान्ता हुँदै संसद्सम्मको शर्माको यात्रा

आमयुवा र हाम्रो बागलुङ, हाम्रो जिम्मेवारीका संस्थापक सोम शर्मा युवाको आवाजलाई सडकबाट संसद्को यात्रा थाल्नुभएको छ । हालै रास्वपामा आबद्ध शर्माले पश्चिम बागलुङको क्षेत्र नं २ को निर्वाचन जित्न सफल हुनुभएको छ ।

३४ वर्षीय शर्मा सामाजिक अभियान्ता, जेनजी आन्दोलनका अगुवा हुँदै प्रतिनिधिसभा सदस्य हुन सफल हुनुभएको छ । शर्माले बागलुङ–२ मा १२ हजार ६४७ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँले कांग्रेसका टेकराज पौडेललाई ७७९ मतले पछाडि पार्दै निर्वाचन जित्नुभएको हो ।

यहाँ खसेको ४७ हजार २०७ मतमा शर्माका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार पौडेलले ११ हजार ६८ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गर्दा नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेले सात हजार ८६४ मत प्राप्त गर्नुभएको थियो । यस क्षेत्रमा ११ उम्मेदवार चुनावी मैदानमा थिए ।

कोरोनापीडितका सहयात्रीदेखि जेन्जी अगुवासम्म

बागलुङ बजारमा इलेक्टोनिक्स पसल सञ्चालन गर्नुभएका शर्मा कोरोनाअघि काठमाडौँ पुग्नुभएको थियो । जेनजी आन्दोलन र नागरिक खबरदारीको अगुवाका रूपमा चिनाउने शर्मा कोरोनाकालमा सडकमा खाना बाड्दै काठमाडौँमा हिँड्नुभएको थियो ।

कोरोना, विपद्, गरिबी तथा समाजका विभिन्न क्षेत्रका सेवाको सारथीका रूपमा चिनिनुभएका उहाँ राजनीतिमा नयाँ अनुहारका रूपमा संसद् छिर्नुभएको छ । विसं २०४८ पुस २९ मा बागलुङ नगरपालिका–१२ मा शर्मा जन्मनुभएको हो ।

एक प्रतिबद्ध, नैतिक र सुधारमुखी व्यक्तित्व भएका युवा नेताका रूपमा चिनिन थाल्नुभएका शर्मालाई पहिलोपटक नै जनताले अनुमोदन गरेका छन् । विद्रोही युवाका रूपमा रहुनभएका शर्माले सामाजिक सञ्जालबाट सुशासनको पक्षमा बोल्दै आउनुभएको थियो ।

रास्वपाको राजनीति, समाजसेवा र व्यावसायिक नेतृत्वमार्फत आफ्नो क्षेत्र र समुदायको विकासमा योगदान पुर्याउन निर्वाचनमा होमिएका शर्माले बागलुङको पश्चिम क्षेत्र विकट नभएर विकट बनाइएको बताउनुहुन्छ ।

“बागलुङको पश्चिम क्षेत्रलाई विकट मानियो, तर विकट बनाइएको हो, अब विकट रहँदैन, पर्यटनमार्फत यहाँको विकास हुन्छ, निर्वाचित सांसद गाउँ नआएको गुनासो अब रहन्न, म नियमित गाउँ र सदनलाई जोड्नेछु ।”

त्रिभुवन विश्वविद्यालय, रत्नराज्य क्याम्पसबाट राजनीतिशास्त्र र आम सञ्चार विषयमा स्नातक तह अध्ययन गर्नुभएका शर्माले कम्प्युटर, नेटवर्किङ र कृषि उद्यमशीलतासम्बन्धी विभिन्न तालिम लिइसक्नुभएको छ ।

पेसागत जीवनमा उहाँसँग कम्प्युटर शिक्षक, प्राविधिक विशेषज्ञ र व्यवस्थापन निर्देशकका रूपमा कार्य गरेको अनुभव छ । विकासमा पछि परेको बागलुङ पश्चिम क्षेत्रको भूगोललाई राष्ट्रिय रूपमा चिनाउँदै पर्यटकीय क्षेत्रका रूपमा चिनाउने शर्माको अठोट छ ।

सम्बन्धित समाचार