सामाजिक क्षेत्रबाट संसदको यात्रामा बिना गुरुङ

सामाजिक क्षेत्र, महिला सशक्तीकरण र शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय बिना गुरुङले पहिलोपटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको छ । उहाँ प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं ३ मा प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले जित हासिल गर्न सफल हुनुभयो ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङ ३७ हजार ७५० मतसहित विजयी बन्नुुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका मनोज गुुरुङले १२ हजार ७८० मत पाउनुभयो । नेकपा (एमाले) का दामोदर बैरागीले सात हजार ९०६ मत पाउनुभयो । बैरागी यसअघि यसै निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।

सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालको संस्थापक अध्यक्षसमेत रहनुभएकी गुरुङ महिला दिदीबहिनीहरूको प्रेरणा स्रोत बन्दै आउनुभएको छ । महिला उद्यमशीलता प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा समुदायमा सामाजिक अभियान सञ्चालनमा सक्रिय रहँदै राजनीतिक यात्रामा जोडिनुभएको थियो ।

श्रीमान्, एक छोरा एक छोरीका साथ पोखरा–५ मा बस्दै आउनुभएकी गुरुङ २०७२ सालको भूकम्प र कोभिड–१९ महामारीका बेला विभिन्न क्षेत्रमा राहत तथा स्वास्थ्य सामग्री वितरणमा सक्रिय रहनुभएको थियो । विजयपछि कास्की–३ को समग्र विकास, सुशासन र जनताको अपेक्षाअनुसार काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पर्यटन प्रवर्द्धन, महिला उद्यमशीलता, सहकारीपीडितको समस्या समाधान तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने सांसद गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म सामाजिक क्षेत्र र उद्यमशीलताको यात्राबाट राजनीतिमा आएकी छु, अब राजनीतिको यो नयाँ यात्रालाई पनि आफ्नो इमान्दारिता जनभावनाअनुरुप काम गर्नेछु ।”

सांसद गुरुङले जेनजी आन्दोलनको मर्मसहित जनताको यो विश्वास र जनमतलाई नतिजामा उतार्नका लागि नीतिगत तहमा आफ्नो भूमिका सशक्त गराउँदै लैजाने बताउनुभयो ।

सम्बन्धित समाचार