आरेन राई : जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म

खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका आरेन राई खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिवसमेत रहनुभएका २९ वर्षीय राईले १६ हजार ६१२ मत प्राप्त गर्नुभएको छ ।

उहाँ विसं २०८० मा मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका सर्वोच्चसभा सदस्य एवम् आर्थिक विभाग प्रमुख पद परित्याग गरेर श्रम संस्कृति पार्टी प्रवेश गर्नुभएको थियो । राई पहिचानवादी नेताका रुपमासमेत परिचित हुनुहुन्छ ।

सानै उमेरदेखि विभिन्न सङ्घ/संस्थामा आवद्ध रहेर सामाजिक काम गर्दै खुला राजनीतिमा आउनुभएका राईले अब प्रतिनिधिसभामा गएर भूइँ मान्छेको हित हुने किसिमको नीति निर्माण तथा उनीहरुको आवाज बुलन्द गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

२०७४ सालसम्म राष्ट्रवादी केन्द्र नेपाल अभियानका केन्द्रीय सदस्य रहेर सामाजिक अभियानमा खटिनुभएका उहाँ स्नातक तहमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ ।

जातीय विभेदविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी प्रमिला बिसुका (सार्की)सँग अन्तरजातीय विवाह गर्नुभएको छ । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईको गृह जिल्ला खोटाङमा सोही पार्टीका महासचिव राईको उम्मेदवारी घोषणालाई महत्वका साथ हेरिएको थियो ।

पार्टी स्थापना भएको तीन महिनामै देशभरका जनताको उत्साह र समर्थनले जिल्लामा आफूहरुको जित भएको श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईले बताउनुभएको छ ।

दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको खोटाङमा पुरानै राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरुले बताउँदै आएका थिए । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा पनि खोटाङका पाँच जना नेताको समावेश छ ।

आदिवासी जनजाति महिला कोटामा पार्टीका जिल्ला उपाध्यक्ष उमा चाम्लिङ राई, चन्द्रकला याखा र समला राई, आदिवासी जनजाति पुरुष कोटामा सीताराम राई तथा दलित महिला कोटामा कोपिला घिमिरे छन् । (रासस)

सम्बन्धित समाचार