नवकान्तिपुर संवाददाता
नारायणगढ (चितवन), २६ फागुन ।


चितवनको भरतपुर महानगरपालिका–१५ फूलबारीस्थित श्रीपुरमा प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले लगाउनुभएको सूर्यमुखी बगानमा अहिले फूल ढकमक्क फुलेसँगै अवलोकन गर्ने मानिसको भीड देखिन थालेको छ । करिब साढे दुई बिघा क्षेत्रफलमा फुलेका सूर्यमुखी फूल हेर्न आउनेको जमात दिनदिनै बढ्दै गएको छ ।
यहाँ कोही टिकटक बनाउँदै भेटिन्छन् भने कोही अध्ययन–अवलोकन गर्दै र कोही फोटो खिच्दै रमाइरहेका देखिन्छन् । फूलमा मौरीले रस सङ्कलन गर्दै बगानभरि घुमिरहेको दृश्य र बाली जोगाउन सुगालगायत चरालाई भगाउन राखिएका ‘डमी’ले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ । बगानको बीच भागमा निर्माण गरिएका मचानमा बसेर चारैतिर फैलिएको सूर्यमुखी बारी अवलोकन गर्दा निकै रमाइलो अनुभव गर्न सकिन्छ ।
भरतपुर–३ बाट अवलोकन गर्न आउनुभएका पवन अधिकारी र उल्झना अधिकारीले यहाँको वातावरण निकै रमाइलो लागेको बताउनुभयो । उहाँहरूले अन्यलाई पनि यहाँ आएर फूलको सौन्दर्य अवलोकन गर्न र केही समय मन प्रफुल्लित बनाउन आग्रह गर्नुभयो ।
त्यसैगरी, समूहमा यहाँ घुम्न आउनुभएका गीता खड्का, आस्मा गुरुङ, जेनी चौधरी, सानु चौधरी र साना चौधरीले पनि बगान निकै आकर्षक रहेको बताउनुभयो ।
नारायणगढबाट आउनुभएका उहाँहरूले अघिल्लो वर्ष आउने योजना भए पनि फूल सुकेको हुँदा आउन नपाएको र यस वर्ष भने फूल फुलेको समयमा आएको बताउनुभयो । टिकटकमा देखेर यहाँ आउन प्रेरणा मिलेको उहाँहरूको भनाइ छ ।
एग्रो–इको टुरिजम प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको यस बगानले यस क्षेत्रलाई चहलपहल बनाउनुका साथै युवाहरूलाई कृषि क्षेत्रमा लाग्न प्रेरणा पनि दिएको छ । हाल यहाँ दैनिक चारदेखि पाँच सयसम्म मानिस विभिन्न स्थानबाट अवलोकन गर्न आउने गरेका छन् । फूल फुल्ने समय सीमित हुने भएकाले यस अवधिमा आगन्तुकको भीड बढी हुने गरेको छ ।
अधिकारीले भन्नुभयो, “धेरैजसो रमाउन, फोटो खिच्न र टिकटक बनाउन आउनुहुन्छ । कतिपय भने खेतीबारे बुझ्न पनि आउनुहुन्छ । बीउ कहाँ पाइन्छ ? ‘मेरो पनि जग्गा छ, म पनि लगाउँछु’ भन्दै सल्लाह लिन आउनुहुन्छ । सकेसम्म मैले जानेको कुरा सिकाएर पठाउने गरेको छु ।” युवाहरूमा पनि यस खेतीप्रति आकर्षण बढ्दै गएको र कृषि पर्यटनको सम्भावना देखिएको उहाँको भनाइ छ ।
प्राङ्गारिक किसान अधिकारीले कुनै पनि रासायनिक मल वा विषादी प्रयोग नगरी खेती गर्न थालेको ३६ वर्ष भएको बताउनुहुन्छ । उहाँको अग्रसरतामा जिल्लाका केही स्थानमा प्राङ्गारिक कृषि प्रणाली पनि अपनाइएको छ । यहाँ उहाँले सूर्यमुखीसँगै गाजर, चुकन्दरलगायतका खेती पनि गर्दै आउनुभएको छ ।
उहाँका अनुसार गत वर्ष यहाँ गाजर र चुकन्दरखेती गरिएको थियो भने अघिल्लो वर्ष पनि सूर्यमुखी लगाइएको थियो । यस वर्ष पुनः सूर्यमुखी खेती गरिएको उहाँले बताउनुभयो । अघिल्लो वर्ष आगन्तुकबाट राम्रो प्रतिक्रिया प्राप्त भएपछि यस वर्ष पनि सूर्यमुखी लगाइएको र हालसम्म राम्रो भइरहेको उहाँको भनाइ छ । उहाँका अनुसार यस बगान स्थापना गर्न रोपाइँ, गोडमेल र व्यवस्थापनमा ठूलो लगानी गरिएको छ ।
उहाँले तेलबाली अनुसन्धान कार्यक्रम सर्लाहीबाट बीउ ल्याएर यहाँ सूर्यमुखीखेती गर्नुभएको हो । यहाँ उत्पादन हुने प्राङ्गारिक वस्तुको बजारको समस्या नभएको उहाँले बताउनुभयो । काठमाडौँस्थित अग्र्यानिक मार्टमा यहाँका उत्पादन जाने गरेका छन् । सूर्यमुखीको तेल प्रतिलिटर रु ८०० मा बिक्री हुने उहाँको भनाइ छ ।
उहाँका अनुसार मङ्सिरको सुरुमा रोपिएको सूर्यमुखी चैतमा उत्पादन दिन्छ । यही समयमा फूल फुल्ने भएकाले मानिसहरू अवलोकन गर्न आउने गरेका हुन् । “फूल फुल्ने समयमा कृषि पर्यटनसँग जोडिएको छ”, उहाँले भन्नुभयो, “मैले सुरुमा पर्यावरणमैत्री कृषि गरिरहेको थिएँ, पछि यससँग पर्यटन पनि जोडियो ।”
कृषिमा अत्यधिक नाफाको अपेक्षा गर्नु नहुने उहाँ बताउनुहुन्छ । “कृषि गर्नु आफैँमा आनन्दको विषय हो”, उहाँले भन्नुभयो । अवलोकनका लागि आउने आगन्तुकबाट आफूलाई पनि हौसला मिलेको उहाँको भनाइ छ ।
नेपालको भौगोलिक विविधताले फरकफरक स्थानमा फरक किसिमको कृषि प्रणाली अपनाउन सकिने सम्भावना रहेको उहाँले बताउनुभयो । “हरेक भूगोलअनुसार उत्पादन गरेर देशलाई आवश्यक पर्ने वस्तु उपलब्ध गराई बाँकी निर्यात गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “यसका लागि कृषि विज्ञको परामर्श र नीतिनिर्माताको सहयोग आवश्यक छ ।”
नेपालमा कृषिको सम्भावना राम्रो रहेको उल्लेख गर्दै उहाँले जानेर–बुझेर तथा विज्ञको सल्लाह लिएर फरकफरक प्रकारका कृषिबाली र कृषि पद्धति अपनाउनसके राम्रो हुने सुझाव दिनुभयो ।

