प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा इजरायलको बधाई

इजरायलले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ ।

नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले आज दिउँसो यहाँ ‘नयाँ पश्चिम एसियामा नव प्रभात’ विषयमा पत्रकार सम्मेलन गरेर नेपालसँगको द्विपक्षीय मैत्री र सहकार्य अझ सुदृढ बनाउने इजरायलको इच्छा व्यक्त गर्नुभयो । साथै उहाँले सम्पन्न निर्वाचनलाई लोकतन्त्र सुदृढ पार्ने महत्वपूर्ण कदमका रूपमा वर्णन गर्नुभयो ।

इजरायली राजदूतले इजरायल पश्चिम एसियामा शान्ति चाहने र सम्पूर्ण क्षेत्रको शान्ति र प्रगतिका लागि आफ्ना सबै छिमेकी देशसँग वार्ता गर्न तयार रहेको बताउनुभयो । उहाँले आफ्नो देशलाई हिज्बोल्लाह र हमासजस्ता कट्टरपन्थी समूहहरूले बारम्बार आक्रमण गरेका तथा ती समूहलाई इरानले वित्तीय तथा अन्य सहयोग गरेको आरोप लगाउनुभयो ।

इजरायलले ती अतिवादी समूहका कारण आफ्नो अस्तित्व सङ्कटका परेकाले आत्मरक्षाका निम्ति प्रतिकार गर्दै आएको स्पष्ट पार्दै उहाँले जारी हवाई हमलामा इजरायलले इरानी नागरिकलाई लक्षित गर्न नचाहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संयुक्त राज्य अमेरिका र इजरायलद्वारा गरिएका हवाई आक्रमण इरानको आणविक खतरालाई निष्प्रभावी बनाउने उद्देश्य हो । यो पश्चिम एसिया मात्र नभई विश्वव्यापी सुरक्षासँग जोडिएको विषय हो ।”

सम्बन्धित समाचार