नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ फागुन ।


उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्ने नयाँ सरकारले जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
अध्यक्ष घिसिङले मंगलबार वक्तव्य जारी गर्दै निर्वाचनमा आफ्नो पार्टीलाई मतदान गर्ने मतदाता, समर्थक र शुभेच्छुकप्रति धन्यवाद दिँदै नयाँ सरकारबाट हुने राम्रा कामको समर्थन तथा गलत काम भएमा सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जाने बताउनुभयो ।
उहाँले चुनावमा हार प्राविधिक विषय मात्र भएको उल्लेख गर्दै चुनावको परिणामले निराश नभइ उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्तरूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अध्यक्ष घिसिङले विषम परिस्थितिकाबीच पनि चुनाव सफलतापूर्वक सम्पन्न गराउन योगदान दिनुहुने प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, सुरक्षा निकाय, कर्मचारी तथा सम्बन्धित सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “हामी काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएका थियौँ । लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जित्यौँ, तर यसपटक मतमा जित्न सकेनौँ, तर चुनावमा हार प्राविधिक विषय मात्र हो, छोटो समयमै तपाईंहरूले जनअभिमतमार्फत दिएको माया, विश्वास र सद्भाव हाम्रो लागि ठूलो ऊर्जा र मार्गदर्शन बनेको छ ।”

