बलात्कारपछि हत्या घटना : दोषीलाई कारबाही माग गर्दे माइतीघर मण्डलामा प्रदर्शन

गत शनिबार वीरेन्द्रनगर–४ सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिका इनिषा विकको बलात्कारपछि हत्या घटनाका दोषीलाई कारबाहीको माग गर्दै दलित युवाले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागीले ‘जस्टिस् फर इनिषा विक’, ‘दलितमाथि बलात्कार र हिंसा बन्द गर’, ‘महिला अधिकार सुनिश्चित गर’ ‘वि वान्ट जस्टिस्’ र ‘महिला शोषणविरुद्ध एक हौँ’ लेखिएका ‘प्ले कार्ड’ बोकेका थिए ।

गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिषा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् ।

उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पु¥याएकामा चिकित्सकले मृत घोषणा गरेको थियो । मृतकका आफन्तहरूले सामूहिक बलात्कार गरेको भन्दै २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले इनिषाकोे बलात्कारपछि मृत्यु भएको पुष्टि भएको जनाइएको छ । सो घटनामा सुर्खेत प्रहरीले चार जनालाई पक्राउसमेत गरेको जनाएको छ ।

सम्बन्धित समाचार