नवकान्तिपुर संवाददाता
भक्तपुर, २९ फागुन ।


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले देशभक्त र इमान्दार युवा जनशक्ति राजनीतिमा आउनुपर्ने बताउनुभएको छ । बिहीबार भक्तपुरको च्यामासिंस्थित बागीश्वरी माध्यमिक विद्यालयको ६७औँ, बागीश्वरी कलेजको १८औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको तेस्रो वार्षिकोत्सव कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
युवाहरू राजनीतिबाट टाढा बस्न नहुने भन्दै उहाँले राजनीतिलाई सुधार्ने जिम्मेवारीका साथ युवापुस्ता राजनीतिमा अगाडि बढ्नुपर्ने अध्यक्ष बिजुक्छेँको भनाइ छ । निर्वाचनले जनताको चेतनास्तर स्पष्ट रूपमा प्रस्तुत गर्ने बताउँदै उहाँले निर्वाचनको समयमा हुने विदेशी र आर्थिक चलखेलबारे जनताले सजग हुनुपर्नेमा जोड दिनुभयो ।
नेपालमा विदेशीहरूको चलखेल हुन दिन नहुने भन्दै अध्यक्ष बिजुक्छेँले युवा विद्यार्थीलाई विदेश पलायनबाट रोक्न सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति, बागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देश बनाउने वा बिगार्नेमा बुद्धिजीवीहरूको महत्त्वपूर्ण भूमिका हुने बताउँदै शिक्षित जनता राजनीतिक रूपमा सचेत र सङ्गठित भएमात्र देश सही दिशामा जाने बताउनुभयो ।
कार्यक्रममा बिजुक्छेँले स्मारिका विमोचन गर्नुका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुभयो ।
