महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि कार्यकर्ता र शुभेच्छुकसँग सुझाव माग

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि कार्यकर्ता र शुभेच्छुकसँग सुझाव माग गर्नुभएको छ । उहाँले आइतबार सामाजिक सञ्जालमार्फत नीतिगत, संरचनागत तथा व्यावहारिक सुधारका विषयमा सुझाव दिन सार्वजनिक आह्वान गर्नुभएको हो ।

“भर्खरै सम्पन्न आम निर्वाचन २०८२ को नतिजा हाम्रासामु आइसकेको छ । पुसमा सम्पन्न विशेष महाधिवेशनले निर्देश गरेका कार्यदिशालाई समेत आत्मसात् गर्दै पार्टीको नियमित महाधिवेशनको छिट्टै आयोजना गर्नुपर्नेछ, यिनै पृष्ठभूमिमा पार्टीलाइ आगामी दिनमा कसरी अगाडि लैजाने भन्ने सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ,” महामन्त्री पौडेलले भन्नुभएको छ ।

अहिलको परिस्थितिमा नेपाली कांग्रेसमा गर्नुपर्ने नीतिगत, संरचनागत तथा व्यावहारिक सुधारका विषयहरु के हुन सक्छन् सुझाव दिन पार्टी कार्यकर्ता र शुभेच्छुकसँग उहाँले अनुरोध गर्नुभएको हो ।

महामन्त्री पौडेलले प्राप्त सुझावलाई पार्टीले आत्मसात् गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कांग्रेसले चाँडै नै आम निर्वाचनका सन्दर्भमा समीक्षा गर्दै भावी रणनीति तय गर्दैछ । उहाँले पार्टीको आधिकारिक इमेल तथा सम्पर्कका माध्यमबाट सुझाव दिन सकिने बताउनुभयो ।

सम्बन्धित समाचार