नवकान्तिपुर संवाददाता
काठमाडौं, २ चैत ।


प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ (पब्लिक अनाउन्समेन्ट सिस्टम) को निरीक्षण गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज प्रधानमन्त्री कार्कीले सुशासन प्रवर्द्धनका लागि सुरु भएको सेवा प्रवाहको मोडेल ‘पास’ सहितको समग्र प्रणाली र कार्यालय व्यवस्थापनको निरीक्षण गर्नुभएको हो । निरीक्षणमा गृहमन्त्री ओमप्रकाश अर्याललगायत विशिष्ट पदाधिकारीहरू सहभागी हुनुहन्थ्यो ।
कार्यालयले सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र जनमैत्री बनाउन सार्वजनिक सम्बोधन÷घोषणा प्रणालीसहितको नयाँ सेवा मोडेल सुरु गरेको जनाएको छ ।
सो प्रणालीको अवलोकन तथा निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीसँगका अन्य सरकारी निकायमा उक्त प्रणाली विस्तार गर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिनुभयो । उक्त प्रणाली लागू भएको करिब तीन महिनाको अवधिमा सेवाग्राहीबाट कुनै गुनासो नआएको र सेवाग्राही सन्तुष्टि बढेको उहाँले बताउनुभयो ।
“सेवा प्रवाहलाई सुशासनमुखी, जवाफदेही र पारदर्शी बनाउन नयाँ मोडेल लागू गरिएको हो । जेनजी आन्दोलनपछि उठेका सुशासन र पारदर्शिताका आवाजलाई सम्बोधन गर्ने उद्देश्यले यो प्रणाली विकास गरिएको हो । यसबाट बिचौलियाको भूमिकालाई कम गर्न मद्दत पुगेको छ”, उहाँले भन्नुभयोे, “कार्यालयको भुइँतलादेखि प्रत्येक तलासम्म ‘स्पिकर’ जडान गरी सेवाग्राहीलाई आवश्यक सूचना, निर्देशन तथा सेवासम्बन्धी जानकारी दिने व्यवस्था मिलाइएको छ । डिजिटल प्रविधिको प्रयोग गरिएको छ ।”
नागरिकता तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी केन्द्रीय डाटाबेस सर्भरमा देखिने समस्याका कारण सेवाग्राहीलाई केही ढिलाइ हुने गरेको भन्दै प्रजिअ पौडेलले गृह मन्त्रालयलाई समन्वय गरिएको बताउनुभयो । कार्यालयमा बिहान ९ः४५ बजे सेवा सुरु हुनुअघि स्वचालित रूपमा आवाजमार्फत सन्देश प्रसारण गर्ने व्यवस्था गरिएको छ ।
त्यसपछि राष्ट्रिय गान बजाएर मात्र सेवा सुरु गर्ने अभ्याससमेत गरिएको छ । दिउँसो खाजा समयअघि सेवाग्राहीलाई जानकारी दिन १०–१० मिनेटको अन्तरालमा सूचना सन्देश प्रसारण गर्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
