

नेपालबाट हेर्दा अमेरिका डलर टिप्ने देश जस्तो लाग्छ। तर यहाँ बस्नेहरूको दैनिक जीवन कस्तो हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ।
छोराछोरी अमेरिका पढ्न गए। पढे र जागिर पनि पाए। नेपालबाट हेर्दा अमेरिका गए।अब त डलर टिप्छन्, पैसा पठाउँछन्, उतै घरबार जोड्छन् र हामीलाई अमेरिका घुमाउँछन् l यहीआशामा बाआमा र परिवार र आफन्त खुशी हुनु स्वाभाविक हो।तर अरूलाई हेर्न र भन्न जति सजिलो लाग्छ, यहॉ भोग्ने र गर्नेको परिस्थिति त्यति सजिलो हुँदैन, जति नेपालबाट हेर्दा देखिन्छ। एउटा वयस्क मान्छेले जीवनको पच्चिस तिस वर्ष पढाईमै लगाएपछि बल्ल बल्ल कमाउन थाल्छ।
नेपालमै पनि पढ्न सजिलो छैन। पढिसकेर अमेरिका जान पनि सजिलो छैन। त्यहाँ गएर फि तिर्न, बस्न, खान र अध्ययन गर्न पनि सजिलो छैन। पढिसकेपछि कागजपत्र बनाउन र काम पाउन पनि सजिलो छैन। धेरै मेहनत, लामो समय र धेरै पैसा लगानी गरेर पढिसकेपछि मात्र कडा प्रतिस्पर्धाबीच काम वा जागिर खाने अवस्थामा पुगिन्छ।
जागिरमा टिक्न पनि गाह्रो सजिलो छैन। स्थायित्व कतै छैन। कामको उत्पादकत्व हेरिन्छ। आफुले गरिरहेको काम आफुले लिएभन्दा कम पैसामा गर्नेहरु पनि धेरै हुन्छन। कम्पनीहरुले नाफा हेर्छन। मान्छे भन्दा काम प्यारो हुन्छ सबैतिर ! अमेरिकामा पनि त्यस्तै हुन्छ ।
सामान्यत: अमेरिकामा बिजनेस, इन्जिनियरिङ, आईटी, हेल्थ वा अन्य कुनै राम्रो विषयमा अन्डरग्रेजुएट वा ग्रेजुएट गरेका मानिसले जागिरबाट वार्षिक ६० हजारदेखि १ लाख डलरसम्म कमाउँछन्। कामको विशेष क्षेत्र, अनुभव, डिग्री र दक्षता बढी भएकाले कसैले त्योभन्दा धेरै पनि कमाउन सक्छन्। नेपालबाट हेर्दा वार्षिक १ लाख डलर धेरै ठूलो रकम जस्तो लाग्छ। तर यहाँको वास्तविक जीवनयापन खर्च (cost of living) अनुभव गर्दा वास्तविकता अर्कै हुन्छ।
मानौं कसैले वर्षको १ लाख डलर कमाउँछ भने विभिन्न कर, सामाजिक सुरक्षा, मेडिकेयर र अन्य कटौतीपछि वार्षिक करिब ७० देखि ८० हजार डलर मात्र बाँकी रहन्छ। अर्थात् महिनाको करिब ६ हजार डलर जति।
अब खर्च हेरौँ। अमेरिकामा कारविना जागिर सम्भव हुँदैन । यहाँ सामान्य नयाँ कारको औसत मूल्य लगभग ४० देखि ५० हजार डलरसम्म हुन्छ। लोन लिएर किनेको भए मासिक किस्ता र बिमा जोड्दा करिब ७०० देखि १००० डलर पर्छ।
त्यसैगरी सामान्य घरको औसत मूल्य ३ देखि ४ लाख डलर आसपास हुन्छ। केही डाउन पेमेन्ट गरेर मोर्टगेज लिएको भए घरको किस्ता, प्रोपर्टी ट्याक्स र इन्सुरेन्स जोड्दा मासिक २ देखि ३ हजार डलर परिहाल्छ। अपार्टमेन्ट भाडामा बसे पनि कम्तिमा २००० डलर त पर्छ।
यस बाहेक दैनिक जीवनका खर्चहरू पनि साना हुँदैनन्। खाना, बिजुली, इन्टरनेट, फोन, ग्यास वा पेट्रोल र अन्य घरखर्च जोड्दा ३–४ जनाको परिवारमा सजिलै १५०० देखि २००० डलर जति खर्च हुन्छ।
खर्च अरू पनि हुन्छन् l जस्तै स्वास्थ्य बिमा र मेडिकल खर्च, पढाइका लागि लिएको student loan, बालबच्चाको daycare, हिँडडुल र मनोरञ्जन, नेपालमा परिवारलाई सहयोग र आकस्मिक खर्च।
परिवारमा दुवै जना कमाउने भए केही बचत होला। तर एक जनाको मात्र महिनाको ६–७ हजार डलर कमाइमा यी सबै खर्च जोड्दा कति नै बाँकी रहला? तपाईंहरू आफैं अनुमान गर्नुहोला।
त्यसैले अमेरिकामा धेरै मानिस paycheck to paycheck अर्थात् कमायो-खायोको जीवन बाँचिरहेका हुन्छन् भन्ने कुरा नेपालबाट हेर्दा बुझ्न अलि गाह्रो लाग्न सक्छ।
अमेरिका राम्रो अवसर भएको देश हो। यहाँ धेरै अवसर पनि छन् तर ती अवसर प्राप्त गर्न धेरै मेहनत, समय र धैर्य चाहिन्छ।अमेरिका सजिलो छैन परबाट सोचे जस्तो…!
(दशरथ उप्रेतीको फेसबुक वालबाट)
हाल : टेक्सास, अमेरिका l
