प्रधानमन्त्री सुशीला कार्कीद्वारा शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा एमालेप्रति आभार प्रकट

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकामा नेकपा (एमाले)लाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई मंगलबार बालुवाटार आमन्त्रण गर्नुभएको थियो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार आउनुभएको थियो ।

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “यो कठिन अवस्थालाई शान्तिपूर्ण रूपमा निकास दिने एकमात्र विकल्प निर्वाचन नै थियो । राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरूले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, यसका लागि धन्यवाद दिन चाहन्छु ।”

उहाँले निर्वाचनमा जित–हार भइरहने भएकाले एकपल्टको जनादेशबाट विचलित नहुन भन्दै एमाले नेतृत्वलाई सान्त्वना पनि दिनुभयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “एकैपटकको जनमतले सधैँका लागि पार्टीहरूको हैसियत निर्धारण गर्दैन । भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरूका पार्टीले बेहोरेको उतारचढाव पनि देखेकै छौँ । राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस् ।”

एमाले नेताहरूले पनि सबै पक्षको चित्त बुझाउँदै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की र उहाँ नेतृत्वको सरकारलाई बधाई दिनुभयो । मुलुकलाई कठिन घडीमा नेतृत्व प्रदान गरी सर्वस्वीकार्य, शान्तिपूर्ण र लोकतान्त्रिक निकास दिएकामा धन्यवाद पनि दिनुभयो ।



उहाँहरूले यस पटकको निर्वाचनमा प्रशासनको निष्पक्षता रहेको भन्दै सरकारको प्रशंसा पनि गर्नुभयो । साथै यसपालिका चुनावी अभियान विगतभन्दा बढी स्वस्थ, शान्तिपूर्ण र कम खर्चिलो भएको अनुभव पनि सुनाउनुभएको थियो ।

सम्बन्धित समाचार