

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नारासहित एभरेष्ट नेपाल कल्चरल ग्रुपले ‘तेह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८२’ को आयोजना गर्दैछ । विगत धेरै वर्षदेखि नेपाली लोक गीत–सङ्गीत र लोक नृत्यमार्फत् विश्वसामु सांस्कृतिक उन्नयनका हिसाबले नेपाललाई चिनाउँदै र विश्वका लोकभाका र लोक संस्कृतिलाई नेपाली घरआँगनमा प्रस्तुत गर्दै एउटा गौरवमय इतिहास कायम राख्न सफल एभरेष्ट नेपाल कल्चरल ग्रुपले यही चैत्र ६ गतेदेखि १४ गतेसम्म नेपालका विभिन्न शहरहरूमा सांस्कृतिक मेलाको आयोजना गर्दैछ । ग्रुपले एक प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त कुराको जानकारी गराएको हो ।

विज्ञप्तिमा भनिएको छ– ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने प्रमुख लक्ष्य बोकेर दुई दशक अघि स्थापना भएको संस्था हो । स्थापना काल देखिनै यस संस्थाले नेपालको सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्य गर्दै आइरहेको छ । केही दशक यता नेपालले आप्mनो लोक संस्कृतिलाई विश्व समुदायसामु उजागर गर्न थालेको भएता पनि नेपाली पर्यटन क्षेत्रको प्रमुख आकर्षणको रुपमा रहन सक्ने सम्भावना भएको नेपालको अनौठो सांस्कृतिक विविधता अहिलेसम्म ओझेलमा पर्दै आएको छ । यस्तो स्थितिलाई मध्यनजर गर्दै यस संस्थाले आफ्नो मौलिक लोक संस्कृतिलाई झल्कने कार्यक्रमहरु स्वदेश तथा विदेशमा प्रस्तुत गर्दै आएको जानकारी गराउन चाहन्छौँ ।’

अगाडि भनिएको छ– नेपाल जस्तो बहुजातिय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा र संस्कृतिहरु रहदै आएको सर्वविदितै छ । नेपाली संस्कृतिप्रति स्वदेशीभन्दा विदेशी बढी आकर्षित हुनु पर्यटन प्रवद्र्धनका दृष्टिकोणले राम्रै मान्न सकिएला तर आफ्नो पहिचान र मौलिकता बोकेका सँस्कृतिप्रति स्वयं नेपाली उदासिन हुनु दुःखलाग्दो पक्ष हो । त्यसमा पनि वर्तमान युवा पिढी आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा आफ्नो संस्कृति प्रवद्र्धनको निम्ति कार्य गर्नु यस संस्थाको प्रमुख उद्देश्य हो ।
यसको लागि यस संस्थाले ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारा सहित २०५९ सालमा प्रथम अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २००२ आयोजना गरेको थियो । त्यसपछि हरेक दुई–दुई वर्षमा आयोजना गरी निरन्तरता दिदै आएको यस संस्थाले २०८२ चैत्र ६ गते शुक्र्रवार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा तेह्रौं अन्तर्राष्ट्रिय लोक संस्कृतिक मेला २०८२ समुद्घाटन कार्यक्रमको आयोजना गर्न गइरहेको छ ।

फाल्गुन १५ गतेदेखि २४ गते सम्म तयारी गरिएको मेला, देशमा निर्वाचनको मितिको समेत सोही समयमा परेको कारण मेलालाई केही पर सारेर चैत्र ५ गतेदेखि १४ गतेसम्म आयोजना गर्न लागिएको हो ।
प्रथम अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलादेखि बाह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलासम्म आइपुग्दा करिब ८६ भन्दा बढी देशका ९ हजार १ सय २५ भन्दा बढी कलाकारहरुले नेपाली घरअाँगनमा आ–आफनो देशको मौलिकता झल्कने झाँकीसहित विविध लोक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन् । आजका दिनसम्म आइपुग्दा यस संस्थाले विश्वको ७८ भन्दा बढी मुलुकहरूमा लोक सांस्कृतिक कार्यक्रममार्फत नेपाली लोक संस्कृतिको पहिचान र प्रवद्र्धन गर्दै-गराउँदै आएको छ ।
नेपाली संस्कृति उत्थान तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनको आफ्नो अभियानलाई निरन्तता दिंदै लोक संस्कृति आदान–प्रदान गर्नुका साथै नेपालमा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्नु यस मेलाको प्रमुख उद्देश्य रहेको जानकारी गराउन चाहन्छौँ । यदाकदा टेलिभिजनको पर्दामा मात्र हेर्दै आइएका विदेशी लोक संस्कृतिलाई एभरेष्ट नेपाल कल्चरल ग्रुपले नेपालीहरुको आफ्नै घरअाँगनमा प्रस्तुत गर्दै आएको छ र यस वर्ष पनि त्यस कार्यले निरन्तरता पाउने छ । यसले नेपालको पर्यटन र संस्कृति प्रवद्र्धनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास संस्थाले लिएको छ ।
यस संस्थाले स्थानीय आयोजकहरु र विभिन्न प्रायोजकहरुको सहयोगबाटै हालसम्म १२ वटा मेलाको सफलतापूर्वक आयोजना गर्दै आज हामी तह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८२ सफलताका साथ सम्पन्न गराउन गइरहेका छौँ भन्न पाउँदा गर्व लागेको छ । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोगी सिद्ध हुने यस्ता कार्यक्रमको प्रचार प्रसार र प्रवर्द्धनमा पत्रकार साथीहरुको पनि अहम् भूमिका रहने कुरामा हामी विश्वस्त छौँ । देशको चौथो अंगको रुपमा स्थापित पत्रकाररिता जगत्का संवाहकका रुपमा परिचित सम्पूर्ण पत्रकार साथीहरुलाई मेला अवधिभर मेलाको समाचार सम्प्रेषण गरी मेलाको प्रचारमा आवश्यक सहयोग गरिदिनुहुन आयोजक संस्था विनम्रतापूर्वक अनुरोध पनि गर्दछ ।
यस पटकको महोत्सव काठमाडौं, पोखरा र ललितपुर, काभ्रेको पाँचखाल र बुढानीलकण्ठजस्ता पर्यटकिय तथा ऐतिहासिक क्षेत्रमा गर्न गइरहेको जानकारी गराउन चाहन्छौँ । ऐतिहासिक तथा विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार र हनुमानढोका दरबारजस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्नाले हाम्रो ऐतिहासिक धरोहरहरुको संरक्षण र संवर्द्धनमा प्रत्यक्ष वा परोक्ष टेवा पुग्ने विश्वास हामीले लिएका छौ ।
यसबाट देशको विविध साँस्कृतिक, पुरातात्विक र अन्य पर्यटकिय स्थलको मात्र नभई नेपालकै विश्व सामु प्रचार–प्रसार हुने आशा राखिएको छ ।
यस अन्तर्राष्ट्रिय मेलामा वोत्सवाना, इस्टोनिया, इजरायल, जर्मनी, भारत, ताइवान, टर्की, पोल्यान्ड, साउथ अफ्रिका र नेपाललगायत विभिन्न राष्ट्रका साँस्कृतिक समूहका २६० भन्दा बढी कलाकारहरुले भागलिने निश्चित भैसकेको छ तर हालै विकसित अमेरिका–इजरायल र इरान युद्धले गर्दा मिडिल इष्टका देशहरूबाट आउने–जाने हवाई यात्राहरू प्रभावित भएको कारण केही देश घट्न सक्ने सम्भावना रहेको व्यहोरा पनि अवगत गराउन चाहन्छौं ।
साँस्कृतिक मेला अवधिभर कलाकारहरुले आ–आफ्नो सँस्कृतिलाई झल्कने भेष–भूषा लगाई सांस्कृतिक झाँकी प्रस्तुत गर्ने र आफ्नो लोक गीत, संगीत र लोक नृत्य प्रस्तुत गर्ने जानकारी गराउन चाहन्छौँ । यसै क्रममा काठमाडौ आसपासका विद्यालयमा गई विदेशी कलाकारहरुले आफ्ना सांस्कृतिक प्रस्तुत गर्ने र विद्यालयका विद्यार्थीहरुको समेत साँस्कृतिक प्रस्तुति रहने कार्यक्रम पनि रहेको छ । यस किसिमको सांस्कृतिक आदान–प्रदानले विद्यार्थीहरुमा आप्mनो लोक संस्कृतिप्रति अभिरुची बढ्ने विश्वास लिएका छौ ।
विज्ञप्तिको अन्त्यमा भनिएको छ– यही चैत्र ६ गते शुक्रबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा समुद्घाटन हुने यस मेलाको तयारीका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु-याउने साथै सहकार्य गर्ने मिडिया एवं पत्रकार साथीहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्था, स्थानीय आयोजक, स्वयं सेवक सदस्यहरु साथै सम्पूर्ण शुभचिन्तकहरुप्रति एभरेष्ट नेपाल कल्चरल ग्रुप हृदयदेखि हार्दिक आभार व्यक्त गर्दछ ।
