नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ चैत ।


परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपालीलाई देशको सामाजिक-आर्थिक विकासमा योगदान पुर्याउन आग्रह गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घको नवनिर्वाचित टोलीसँगको भेटमा उहाँले एनआरएनएका पहलमा मन्त्रालयको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । संसद्का नव निर्वाचित सदस्यहरूसँग समन्वय गर्न सुझाव दिँदै उहाँले आगामी सरकार यसप्रति सकारात्मक रहनेमा विश्वास प्रकट गर्नुभयो ।
मन्त्री शर्माले उक्त टोलीलाई बधाई दिँदै सङ्घ एकताबद्ध रहँदै १२औँ अन्तरराष्ट्रिय महासभा तथा विश्व सम्मेलन २०८२ सफलतापूर्वक सम्पन्न गरेकामा खुसी व्यक्त गर्नुभयो ।
परराष्ट्र सचिव अमृतबहादुर राईले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । एनआरएनए सरकारको विश्वासिलो साझेदार रहेकाले आगामी दिनमा सहकार्य गर्ने बताउँदै उहाँले नेपाली डायस्पोरा विश्वभर विस्तार हुँदै गएकामा खुशी व्यक्त गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको मुद्दा छिट्टै समाधान हुने विश्वास व्यक्त गर्दै विश्वभर रहेका नेपाली डायस्पोराको हित प्रवर्द्धनमा सङ्घ र सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाउनेमा जोड दिनुभयो । उहाँले सङ्घभित्र एकता कायम गर्न सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।


