
भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी भन्नुहुन्थ्यो- राजनीतिमा सबैभन्दा ठूलो गल्ती भनेको चुनाव हार्नु हो। यो भनाइले राजनीतिमा जनमतको महत्वलाई स्पष्ट रूपमा देखाउँछ। सैद्धान्तिक बहस, विचारधारा र भाषण जति नै आकर्षक गरिए पनि अन्ततः नेताको वास्तविक परीक्षण जनताले नै गर्ने हो। जनताको मन जित्न नसक्ने नेता आफैं विस्थापित हुन्छ ।
मेरो बुझाइमा कुनै पनि नेता स्थायी रूपमा न त आउटडेटेड हुन्छ, न डाइनामिक; न पूर्ण रूपमा राम्रो वा खराब, न सधैं लोकप्रिय वा अलोकप्रिय। जनमतले अनुमोदन गरेसम्म मात्र नेताको सान्दर्भिक रहन्छ, अन्यथा समयले असान्दर्भिक बनाइदिन्छ ।
हालै सम्पन्न निर्वाचनले यही यथार्थलाई पुनः पुष्टि गरेको छ। यो चुनाव केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र रहेन, बरु यसले दीर्घकालीन राजनीतिक सन्देश दिएको छ। वर्षौंदेखि संचित जनआक्रोश, असन्तुष्टि र परिवर्तनको चाहनाले यस चुनावमार्फत अभिव्यक्ति पाएको छ। विशेषगरी नयाँ पुस्ताको सक्रियता र चेतनाले पुराना राजनीतिक संरचनाहरूलाई चुनौती दिएको देखिन्छ।
चुनावको प्रक्रियामा विभिन्न आशंका र अविश्वासहरू व्यक्त गरिएका थिए। कतिपयले चुनाव नै सम्पन्न हुन नसक्ने भविष्यवाणी गरेका थिए l ठूला नेताहरूले विभिन्न प्रकारका दबाब सिर्जना गर्ने प्रयास गरेका थिए। तर अन्ततः ती सबै आशंका निरर्थक सावित भए। चुनाव सफलतापूर्वक सम्पन्न भयो र यसले लोकतन्त्रलाई पुनः सही दिशामा ल्याएको अनुभूति गरायो। यसका लागि सरकारको भूमिका पनि प्रशंसनीय मान्न सकिन्छ।
यस चुनावले देखाएको अर्को महत्वपूर्ण पक्ष भनेको जनताको चेतनाको स्तरमा आएको परिवर्तन हो। अहिले पहिले जस्तो जनता केवल मत दिने कार्यमा सीमित रहेनन्। उनीहरू अब सचेत, प्रश्न गर्ने र निर्णय गर्ने अवस्थामा पुगेका छन्। कसैले मतको ठेक्का लिएको जस्तो व्यवहार अब स्वीकार्य छैन। मौन बस्नु भनेको समर्थन जनाउनु होइन भन्ने कुरा जनताले व्यवहारमै देखाएका छन्। आवश्यक परे मौन विद्रोहमार्फत पनि जनताले आफ्नो असन्तुष्टि व्यक्त गर्न सक्छन् भन्ने सन्देश यो चुनावले दिएको छ।
सामाजिक सञ्जालले पनि यसमा महत्वपूर्ण भूमिका खेलेको छ। यसले जनचेतना फैलाउने काम गरेको छ, यद्यपि केही हदसम्म दुरुपयोग पनि भएको देखिन्छ। तर समग्रमा हेर्दा यसले जनतालाई सशक्त बनाएको छ। अब जनता नेताहरूको भाषणमा मात्र प्रभावित हुने अवस्था छैनन्। उनीहरू प्रतिप्रश्न गर्न थालेका छन्- किन भोट दिने, के उपलब्धि हासिल भयो, भविष्यका योजना के छन् भन्ने जस्ता प्रश्नहरू अब सामान्य भइसकेका छन्।
यस चुनावको सबैभन्दा महत्वपूर्ण सन्देश भनेको मत परिवर्तनको शक्ति हो। मत स्थायी हुँदैन भन्ने कुरा यसले स्पष्ट पारेको छ। न त पारिवारिक विरासतले, न दलगत प्रभावले, न जात, धर्म वा भूगोलले मतलाई स्थायी रूपमा बाँधेर राख्न सक्छ। अन्ततः निर्णय जनताको अन्तरआत्माले गर्छ। आज एक पक्षमा गएको मत भोलि अर्को पक्षमा जान सक्छ। यही नै लोकतन्त्रको सुन्दरता पनि हो।
पुराना राजनीतिक दलहरूका लागि यो चुनाव एउटा गम्भीर आत्ममूल्यांकनको अवसर हो। नेपाली कांग्रेसका सन्दर्भमा हेर्दा, आन्तरिक सुधारका प्रयासहरू जनतासम्म प्रभावकारी रूपमा पुग्न सकेनन्। गुटबन्दी, नेतृत्व विवाद र संरचनागत कमजोरीहरू अझै पनि कायम रहेको देखिन्छ। अब केवल नेतृत्व परिवर्तन मात्र होइन, व्यापक संरचनागत सुधार आवश्यक छ। युवा पुस्तालाई नेतृत्वमा ल्याउने र संगठनलाई समयानुकूल बनाउने आवश्यकता स्पष्ट देखिएको छ।
नेकपा एमालेका लागि पनि यो चुनावले स्पष्ट सन्देश दिएको छ। संगठनात्मक रूपमा बलियो देखिए पनि व्यवहारमा जनतासँगको दूरी बढेको अनुभूति हुन्छ। “जनवादी केन्द्रीयता” को सिद्धान्त व्यवहारमा कमजोर देखिएको छ। नेतृत्वमा पारदर्शिता, उत्तरदायित्व र परिवर्तन आवश्यक देखिन्छ। जनताको विश्वास पुनः प्राप्त गर्नका लागि पार्टीले आफ्नो कार्यशैलीमा सुधार ल्याउनुपर्ने देखिन्छ।
माओवादी धारका दलहरूका लागि पनि यो चुनावले गम्भीर सन्देश दिएको छ। “जनताको सेवा” भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्न नसक्दा जनतामा निराशा बढेको देखिन्छ। नेतृत्वभन्दा कार्यकर्तालाई केन्द्रमा राख्ने सोचलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता देखिन्छ।
समग्र कम्युनिस्ट आन्दोलनका लागि पनि एउटा सन्देश स्पष्ट छ- नेतृत्वभन्दा कार्यकर्ता र जनता महत्वपूर्ण हुन्। राजनीतिको उद्देश्य सत्ता प्राप्ति मात्र नभई जनताको जीवनस्तर सुधार नै प्रमुख लक्ष्य हुनुपर्छ। अन्यथा सत्ता केवल अस्थायी उपलब्धि मात्र बन्न सक्छ।
नयाँ शक्ति वा बहुमत प्राप्त गर्ने दलका लागि पनि यो चुनावले चेतावनी दिएको छ। सत्ता अहंकार प्रदर्शन गर्ने माध्यम होइन। दुईतिहाइ बहुमत शासन गर्ने अधिकार भए पनि त्यसलाई जनताको सेवा गर्ने अवसरका रूपमा लिनुपर्छ। सत्ताको दुरुपयोग वा अहंकारले जनताको विश्वास चाँडै गुम्न सक्छ।
अन्ततः यो चुनावले दिएको सबैभन्दा ठूलो सन्देश भनेको जनताको मन स्थिर हुँदैन भन्ने हो। यो निरन्तर परिवर्तनशील हुन्छ। नदीजस्तै बगिरहने जनमतलाई कसैले स्थायी रूपमा नियन्त्रण गर्न सक्दैन। जो यसलाई बुझ्न र समयअनुसार आफूलाई परिवर्तन गर्न सक्दैन, त्यो राजनीति बाट बाहिरिन बाध्य हुन्छ।
यसकारण, सबै राजनीतिक दल र नेताहरूले यो सन्देशलाई गम्भीर रूपमा लिनु आवश्यक छ। जनताको विश्वास जित्नु नै सबैभन्दा ठूलो उपलब्धि हो, र त्यो विश्वास कायम राख्न निरन्तर सुधार, उत्तरदायित्व र सेवा आवश्यक पर्छ। अन्यथा, आगामी चुनावहरू अझ कठोर हुने निश्चित छ।


