कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्नेमा जोड

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्नेमा जोड दिइएको छ । प्रतिष्ठानको आयोजनामा बुधबार यहाँ भएको सर्वदलीय सर्वपक्षीय छलफल तथा सुझाव ग्रहण कार्यक्रमका सहभागीहरूले प्रतिष्ठानको सेवालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकको अभाव हुन नदिन सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्वास्थ्य नैसर्गिक अधिकार भएकाले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै आमनागरिकको पहुँच स्थापित गर्न आवश्यक रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका जिल्ला सभापति कर्णबहादुर शाहीले स्थानीयस्तरमै प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै बिरामीलाई बाहिर ‘रेफर’ गर्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका उपकुलपति डा पुजनकुमार रोकायाले छलफलबाट आएका सुझावलाई क्रमशः समाधान गरिने बताउनुभयो । स्वास्थ्यसेवालाई थप परिमार्जन गर्दै व्यवस्थित र प्रभावकारी तरिकाले अगाडि बढ्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

उपकुलपति डा रोकायाले विगत तीन वर्षको अवधिमा प्रतिष्ठानले सामाजिक सेवा इकाइमार्फत रु २९ लाख ९० हजार १३९ बराबरको निःशुल्क सेवा प्रवाह गरेको जानकारी दिनुभयो ।

सेवाग्राहीको गुनासो, अनुभव र सरोकार भएकाहरूका सुझावलाई समेटेर सेवा सुधार गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित समाचार