नवकान्तिपुर संवाददाता
इनरुवा (सुनसरी), १९ चैत ।

जिल्ला प्रहरी कार्यालयले सुनसरीका दुई सरकारी कार्यालयबाट बुधबार १७ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीलाई दुःख, हैरानी दिएको सूचनाका आधारमा सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला मालपोत कार्यालय तथा इटहरीस्थित यातायात व्यवस्था कार्यालयबाट १७ जना बिचौलियालाई नियन्त्रणमा लिएको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिनुभयो ।
मालपोत कार्यालय परिसरबाट सेवाग्राहीको काम छिटोछरितो गरिदिने बहानामा बिचौलियाको काम गरिरहेका १३ जनालाई नियन्त्रणमा लिइएको र यातायात कार्यालयबाट चार जना गरेर १७ जनालाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।
मालपोत कार्यालय सुनसरीबाट पक्राउ पर्नेमा रामधुनी नगरपालिका–९ का २८ वर्षीय युजिन घिमिरे, रामधुनी–५ का ५६ वर्षीय धननारायण श्रेष्ठ, इटहरी उपमहानगरपालिका–५ की २७ वर्षीय अर्चना आचार्य, इटहरी–५ का ५० वर्षीय दीपककुमार दाहाल, इनरुवा–३ की ३२ वर्षीय आयसा मोते रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, इनरुवा–२ का २४ वर्षीय मिलन मेहता, इनरुवा–६ का ५२ वर्षीय मेघराज फुयाँल, इनरुवा–८ का ४० वर्षीय वीरेन्द्र पण्डित, इनरुवा–२ का ३५ वर्षीय असिप आचार्य, इनरुवा–६ का ४९ वर्षीय रोशन विक, इनरुवा–१ का ३२ वर्षीय प्रमोसकुमार सिंह, भोक्राहा नरसिंह गाउँपालिका–५ का २५ वर्षीय एकरारआलम मन्सुरी र भोक्राहा नरसिंह–१ का २६ वर्षीय सर्ताजआलम मन्सुरी रहेको प्रहरी उपरीक्षक थेबेले बताउनुभयो ।
यस्तै, यातायात कार्यालयबाट इटहरी–४ का २७ वर्षीय सुमन ओझा, इटहरी–१० का ४६ वर्षीय शेरबहादुर कार्की, इटहरी–४ का ५० वर्षीय योगेन्द्र ओझा र इटहरी–४ का ४० वर्षीय सूर्य थापालाई नियन्त्रणमा लिइएको छ ।


