नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ चैत ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले सरकारले उद्योगी–व्यवसायी सम्मानित हुने वातावरण बनाउने बताउनुभएको छ ।
नेपाल समुद्रपार निकासी पैठारी सङ्घको ४५औँ वार्षिक साधारणसभाको मंगलबार उद्घाटन गर्दै उहाँले आगामी दिनमा उद्यमी–व्यवसायी सम्मानित महसुस हुने वातावरण सरकारले बनाउने बताउनुभयो ।
वाचापत्रमा उल्लिखित प्रतिबद्धता पूरा गर्न निजी क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । “निकासी पैठारी ऐन बन्दै छ, त्यसमा तपाइँहरूसँगको सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो ।
सरकारलाई तिर्नुपर्ने कर अनलाइनबाट तिर्न सकिन्छ भने उद्यमी–व्यवसायीले सरकारबाट फिर्ता पाउनुपर्ने रकम पनि अनलाइनबाट फिर्ता गर्नुपर्ने उहाँले बताउनुभयो । निजी क्षेत्रका समस्या आफूले नजिकबाट अनुभूति गरेको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत समस्या समाधानका लागि महासङ्घ र निजी क्षेत्रका अन्य सङ्घसंस्थाले सहकार्य गर्नुपर्ने बताउनुभयो ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रलाई सहयोग हुने खालको नीतिगत व्यवस्थाको आवश्यकता औँल्याउँदै उत्पादन र निर्यात प्रवद्र्धनमा लाग्नुपर्ने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले जनताले चाहेको परिवर्तन र निजी क्षेत्रले चाहेको स्थायित्व आएकाले अब आर्थिक क्रान्तिको शुभारम्भ हुनुपर्नेमा जोड दिनुभयो ।
सङ्घका अध्यक्ष शिवकुमार अग्रवालले खुला सिमानाका छिद्रमार्फत हुने अनधिकृत आयात रोक्न नेपाली र भारतीय बजारबीच वस्तुको मूल्यमा ठूलो ग्याप नहुने गरी कर र महसुलका दरहरू समायोजन गर्नुपर्ने बताउनुभयो ।


