सामाजिक सञ्जालमा अर्थहीन अर्ति–उपदेशको बाढी

हिजोआज सामाजिक सञ्जाल खोलेर बस्नेबित्तिकै यस्तो भान हुन्छ- मानौं संसारका सबै ज्ञानी, दार्शनिक र सुधारकहरू यहीँ भेला भएका छन् । फेसबुकका वालहरू प्रवचनका मञ्च बनेका छन्, इन्स्टाग्रामका स्टोरीहरू ज्ञानका श्लोकले भरिएका छन् र ब्लगहरू आत्मज्ञानको कारखाना जस्ता देखिन्छन् । बजारमा पेट्रोल, तरकारी लगायत सबै उपभोग्य वस्तु महँगो भए पनि एउटा कुरा भने अत्यन्तै सस्तो छ- त्यो हो, अर्ति र उपदेश । त्यो माग्नु पनि पर्दैन, अनुरोध पनि गर्नु पर्दैन, आफैं दिन थाल्छन् । सित्तैमा ।

आजको युगमा अर्ति दिनका लागि न त तपस्या चाहिन्छ, न त अध्ययन, न अनुभव । एउटा स्मार्टफोन, केही आकर्षक शब्द र थोरै उडन्ते विचारहरू भए पुग्छ,  तपाईं पनि ‘गुरु’ बन्न सक्नुहुन्छ । यस्ता फेसबुके गुरुहरूलाई हेर्दा लाग्छ, उनीहरू सबै समस्या समाधान गरिसकेका महामानव हुन् र बाँकी संसार मात्र भुलभुलैयामा हराएको छ । दिशाहीन भएको छ ।

सबैभन्दा रमाइलो कुरा के छ भने, अर्ति दिनेहरूको जीवन र उनीहरूको उपदेशबीच कुनै तालमेल देखिँदैन । जो आफूले कहिल्यै नियम पालन गर्दैन, उही नियमको पाठ पढाउँछ । जसले गलतबाहेक केही गर्न जानेन, उही अरुलाई सदाचारको उपदेश दिन्छ । जो भ्रष्टाचार, दलाली र अनियमितताबाट फाइदा उठाएर बनाएको महलमा बसिरहेको हुन्छ, उही इमानदारी र पारदर्शिताको भाषण दिन्छ । उनीहरूले  ठानेका छन् – नैतिकताको पाठ अरूलाई मात्र लागू हुन्छ ।

राजनीति त झन् अर्तिको मुख्य केन्द्र बनेको छ । सत्तामा हुँदा मौन बस्ने, केही नगर्ने, र अवसर पाउँदा पनि जनताको पक्षमा उभिन नसक्नेहरू सत्ताबाट बाहिरिनेबित्तिकै विकास र समृद्धिको दर्शन बाँड्न थाल्छन् । उनीहरूको भाषण सुन्दा लाग्छ- अमेरिका, बेलायत, चीन, जापान र सिङ्गापुर जस्ता देशहरू उनीहरूको फेसबुक स्टाटस पढेरै विकसित भएका हुन् ।

तर यथार्थ अलि फरक छ । देशको अवस्था हेर्ने हो भने, लामो समयसम्म नेतृत्वले जनताको अपेक्षाअनुसार काम गर्न सकेन । बालेन सरकार बन्नु अगाडि राजधानीकै हालत हेर्दा पनि निराशाजनक थियो; फोहोर व्यवस्थापन अस्तव्यस्त, अव्यवस्थित शहरीकरण, नियम कानुन कागजमै सीमित  र जनप्रतिनिधिप्रति विश्वास घट्दो अवस्था । जनता निराश थिए र त्यो निराशा पनि सामाजिक सञ्जालमा अर्तिको रूपमा पोखिँदै थियो ।

तर जब बालेन शाह नेतृत्वमा आए, कम्तीमा एउटा सन्देश भने स्पष्ट भयो- कुरा होइन, काम पनि गर्न सकिन्छ । शहर व्यवस्थापन, अनियमित संरचनामाथि कारबाही, उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन र प्रशासनिक सक्रियताले एउटा नयाँ बहस सँगै एउटा आशा जन्मायो । अब अर्ति मात्र होइन, कार्यान्वयन पनि अपेक्षित हुन थाल्यो । उपदेश र कामका बीच फरक देखिन थाल्यो ।

अहिले देश पूर्ण रूपमा रूपान्तरण भइसकेको छैन, समस्या अझै छन्, चुनौतीहरू पनि उत्तिकै छन् । तर देशमा  दिशा परिवर्तनको संकेत देखिन थालेको छ । पहिले जस्तो ‘केही हुँदैन’ भन्ने निराशा अलि कम भएको छ र ‘केही हुन सक्छ’ भन्ने आशा पलाउन थालेको छ ।

यहीँनेर अर्ति दिनेहरू अलि असहज भएका छन् । किनभने अब जनताले केवल शब्द होइन, परिणाम हेर्न थालेका छन् । सामाजिक सञ्जालमा लेखिएको सुन्दर वाक्यभन्दा सडकमा देखिएको परिवर्तन बढी शक्तिशाली हुन थालेको छ । उपदेश, टुक्का र व्यङ्ग्यभन्दा कामको परिणामले जनविश्वास आर्जन गर्न थालेको छ ।

अर्ति र उपदेश आफैंमा खराब कुरा भने होइनन् । तर जब ती व्यवहारसँग मेल खाँदैनन्, तब ती व्यङ्ग्यका विषय बन्छन् । आजको आवश्यकता अर्तिको होइन, उत्तरदायित्वको हो; उपदेशको होइन, उदाहरणको हो । सामाजिक सञ्जालमा ज्ञान बाँड्नुभन्दा सरकारको होस्टेमा हैंसे गर्नु राम्रो हुन्छ । बुझ्नुपर्ने कुरा के होला भने देश स्टाटसले होइन, प्रयासले मात्र बन्छ ।

सम्बन्धित समाचार