नवकान्तिपुर संवाददाता
काठमाडौँ, ८ वैशाख l

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत राष्ट्रव्यापी रुपमा बालबालिकालाई भिटामीन ए क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम आज सम्पन्न भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५ वर्ष मुनिका बालबालिकाको आँखाको दृष्टिलाई जोगाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, कुपोषण कम गर्ने र बाल मृत्यु दर घटाउने उद्देश्यले बैशाख ६ र ७ गते देशैभर ६ देखि ५९ महिनाका करिब २३ लाख बालबालिकालाई भिटामिन ए, १२ देखि ५९ महिनाका करिब २१ लाख बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका करीब ८ लाख बालबालिकालाई बाल भिटा खुवाउने लक्ष्य लिएको थियो ।
यस अभियानलाई सफल बनाउनका लागि करिव ५० हजार जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा १५,००० को हाराहारीमा स्थानीय तहका स्वास्थ्यकर्मीहरु प्रत्यक्ष रुपमा परिचालन हुनुको साथै जनप्रतिनिधिहरु समेतको उल्लेख्य सहभागिता रहेको थियो ।
जारी विज्ञप्तिमा भनिएको छ– ‘हरेक बालबालिकाको स्वास्थ्य सुरक्षामा लगानी गर्नु भनेको राष्ट्रको भविष्य सुरक्षित गर्नु हो र यो अभियान त्यसकै बलियो आधार हो भन्ने विषयमा विषयमा मन्त्रालय प्रतिवद्ध रहेको छ। अभियानमा संलग्न सबैलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।
