नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ वैशाख ।

प्रहरीले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरूको आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका तीन जना फरार कैदीबन्दीलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
लागुऔषध मुद्दाका कैदी दाङ गढवा गाउँपालिका–१ बस्ने ३६ वर्षीय विनोद कुमाल, कर्तव्य ज्यान तथा डाका चोरी मुद्दाका रामेछाप लिखु गाउँपालिका–५ धोबीका ३३ वर्षीय प्रेम तामाङ तथा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नुवाकोट पञ्चकन्या गाउँपालिका–९ का २९ वर्षीय नवराज थापालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “निज कैदीबन्दी कारागारबाट फरार भई काठमाडौँको विभिन्न वडा एरियामा लुकीछिपी बस्ने गरेको भन्ने विशेष सूचनाका आधारमा हाम्रो टोलीले पक्राउ गरेको हो ।”
फरार कैदीबन्दी कुमाललाई अदालतले लागुऔषध मुद्दामा एक वर्ष तीन महिना कैद, तामाङ कर्तव्य ज्यान तथा डाका चोरीसम्बन्धी मुद्दामा २५ वर्ष कैद हुने ठहरी कैद भुक्तानका क्रममा रहेको र थापा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई आजै केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।
मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ट्राफिक प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौँको तार्केशवर नगरपालिका लोलाङ हाइटस्थित सडकखण्डबाट बा७९प ८७४६ नम्बरको ग्रे रङको मोटरसाइकल हराएको भनी निवेदन परेकाले उक्त नम्बरको मोटरसाइकल खोजी गर्दा तार्केश्वर नगरपालिका–७ नागपोखरीस्थित सडकबाट वास्तविक नम्बर परिवर्तन गरी बा७३प ९९६० नम्बर राखी चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “उक्त मोटरसाइकल चोरी कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ । उक्त विषयमा अन्य अनुसन्धान भइरहेकाले पक्राउ परेका व्यक्तिको नाम अहिले गोप्य राखेका छौँ ।”
हराएका सवारीसाधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारीधनी स्वयं सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न पनि प्रवक्ता सुवेदीले आग्रह गर्नुभयो ।
आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्नुका साथै मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले सम्पूर्णमा अनुरोध गरेको छ ।
सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारीसाधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रवक्ता सुवेदीले बताउनुभयो ।


