पाकिस्तानमा तय इरान–अमेरिका वार्ता अनिश्चित, यात्रा रद्द

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित दोस्रो चरणको वार्ताका लागि पाकिस्तान जाने तयारीमा रहेका अमेरिकी प्रतिनिधिमण्डलको यात्रा रद्द गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लामो यात्रा समय, कार्यभारको चाप तथा इरानी नेतृत्वभित्र देखिएको असमझदारीका कारण उक्त निर्णय गरिएको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकासँग वार्तामा सबै आवश्यक शक्ति रहेको बताउँदै यदि इरान पक्षले संवाद गर्न चाहन्छ भने सिधै सम्पर्क गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ । यसअघि पनि उहाँले आफ्ना ज्वाइँ जेरेड कुश्नर र विशेष दूत स्टीभ विटकोफको पाकिस्तान भ्रमण स्थगित गरिएको जानकारी गराउनुभएको थियो ।

यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पाकिस्तानको औपचारिक भ्रमण सम्पन्न गरी इस्लामाबाद छोड्नुभएको छ । उहाँले पाकिस्तानको शान्ति प्रयास तथा मध्यस्थ भूमिकाको प्रशंसा गर्दै यसलाई फलदायी भ्रमणका रूपमा वर्णन गर्नुभएको छ भने अमेरिकी पक्षको कूटनीतिक प्रतिबद्धताबारे प्रश्नसमेत उठाउनुभएको छ ।

उता, अमेरिका र इरानबीचको तनावपूर्ण अवस्थाका बीच फारसको खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । अमेरिकी नौसेनाले समुद्री मार्ग सुरक्षित गर्न खानी हटाउने कार्य जारी राखेको छ भने होर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजहरूको आवागमन सहज बनाउन प्रयास भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार