नवकान्तिपुर संवाददाता
झापा, १३ वैशाख ।

पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् ।
साउनदेखि चैतसम्म ८१ मुलुकका पर्यटकले यो नाका हुँदै नेपाल आएका कार्यालयका प्रमुख तुलसी भट्टराईले जानकारी दिनुभयो । नेपाल प्रवेश गरेका पर्यटकमध्ये सबैभन्दा बढी भुटानी नागरिक रहेका छन् । उक्त अवधिमा चार हजार १५४ जना भुटानी पर्यटक नेपाल आएका छन् ।
भुटानपछि अमेरिका, थाइल्यान्ड, अस्ट्रेलिया र संयुक्त अधिराज्य (बेलायत)का पर्यटक धेरै सङ्ख्यामा नेपाल आएका कार्यालयको अभिलेखमा उल्लेख छ । अमेरिकाबाट एक हजार ६१२, थाइल्यान्डबाट ५२५, अस्ट्रेलियाबाट २२९ र बेलायतबाट १८२ जना नागरिक नेपाल घुम्न आएका कार्यालयका प्रमुख भट्टराईले बताउनुभयो ।
नेपाल आउने पर्यटकले लुम्बिनी, पोखरा, काठमाडौँ, चितवन, गोर्खालगायत प्रमुख पर्यटकीयस्थल जाने बताउने गरेको उहाँले जानकारी दिनुभयो ।
आउने मात्र नभएर पर्यटकले नेपालबाट अर्को मुलुक प्रस्थान गर्नका लागिसमेत यो नाका प्रयोग गर्दै आएका छन् । सोही अवधिमा काँकडभिट्टा नाका भएर नौ हजार ९४२ पर्यटक यहाँबाट बाहिरिएको तथ्याङ्क छ ।
आव २०८१/८२ को साउनदेखि चैतसम्ममा भने यहाँबाट आठ हजार ७० जना पर्यटक भित्रिएका थिए । चालु आवको सोही अवधिमा आगमन भएका पर्यटकको सङ्ख्यामा ४२८ ले कमी आएको छ ।
चालु आवको चैत महिनामा यो नाका भएर एक हजार छ जना पर्यटक नेपाल प्रवेश गरेको र एक हजार ५४३ जना प्रस्थान गरेको कार्यालयले जनाएको छ ।
यस अवधिमा छ हजार ६९१ वटा पर्यटक भिसा, एक सय २४ वटा नातेदार भिसा, २६ वटा वैवाहिक भिसा र ३६ वटा गैरआवासीय भिसा जारी गरिएका छन् । भिसा जारी गरेवापत रु दुई करोड ८० हजार ५२० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
