जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु

रोल्पामा आज जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालका अनुसार रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप आज दिउँसो रोल्पाको थवाङ गाउँपालिका-१ सल्याप भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

जीप भिरबाट करिब ८०० मिटर तलखस्दा १८ जनाको घटनास्थमै मृत्यु भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

घटनालगत्तै रोल्पाका प्रहरी प्रमुख वीरेन्द्र विश्वकर्मा नेतृत्वको टोली घटनास्थल पुगी उद्धार कार्यमा खटिएको उहाँले बताउनुभयो । उक्त जीपमा सवार सबै जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जाने तीर्थयात्री रहेका प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

“दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन सकेको छैन । दुर्घटनाबारेमा थप विवरण आउन बाँकी छ”, उहाँले भन्नुभयो ।

सम्बन्धित समाचार