नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ वैशाख ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनतामा आशा जगाउने गरी सेवा प्रवाह चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
बुधबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले सेवाग्राहीका समस्या नागरिकका सरोकार र आमजनतालाई केन्द्रमा राखेर सेवा प्रणालीलाई सरल, सहज र परिणाममुखी बनाउन जोड दिनुभएको हो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले सरकारले नीतिगत तथा संरचनागत सुधारमार्फत सुशासन प्रवर्द्धन गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा काम गरिरहेको बताउनुभयो । उहाँले सबै निकायलाई वार्षिक योजना तथा कार्यक्रम लक्ष्यअनुसार सम्पन्न गरी विकास र आर्थिक समृद्धिको लक्ष्यमा योगदान पुर्याउन आग्रह गर्नुभयो ।
बैठकमा प्रस्तुत विवरणअनुसार चालु आर्थिक वर्षका नौ महिनामा ६४ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ भने भौतिक प्रगति ७० प्रतिशतभन्दा माथि पुगेको छ । समीक्षा अवधिमा सञ्चालनमा रहेका कार्यक्रमको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको र निर्धारित समयभित्र लक्ष्य हासिल हुने निष्कर्ष निकालिएको छ ।
मन्त्रालयका योजना तथा अनुगमन महाशा प्रमुख एवं सहसचिव शिवकुमार सापकोटाले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने विभिन्न निकायका प्रमुखले आ–आफ्नो कार्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
तीन महिनामा लक्षित कार्यक्रमको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको र आर्थिक वर्षभित्र लक्षित कार्यक्रम पूरा हुने क्रममा रहेको त्यस अवसरमा जानकारी दिइयो ।
बैठकमा राष्ट्रिय योजना आयोगका प्रतिनिधि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी तथा मन्त्रालय मातहत विभिन्न निकायका प्रमुखको उपस्थिति रहेको थियो ।

