नवकान्तिपुर संवाददाता
बेलबारी (मोरङ), १ जेठ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको मोरङको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको वेतना सिमसारमा स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यार्थीहरू अनुुसन्धानका लागि आउने क्रम बढेको हो ।
पहिला वनभोज खान र घुुमघामका लागि मात्र आन्तरिक पर्यटक आउने गरेकामा पछिल्लो समय सिमसार क्षेत्रमा जीवजन्तुुको अनुुसन्धान गर्ने उद्देश्यले विद्यार्थीहरू आउने क्रम बढेको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु भट्टराईले बताउनुभयो । अघिल्लो साता काठमाडौँको एक कलेजबाट यहाँको पानी अनुुसन्धानका लागि विद्यार्थीको टोली आएको उहाँले जानकारी दिनुभयो ।
प्रायः दैनिक दुई सयको हाराहारीमा आउने आन्तरिक पर्यटकले सिमसारमा प्रत्यक्ष रूपमा देख्न पाउने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गर, हरिणलगायत जीवजन्तुुले लोभ्याउने गरेको अध्यक्ष भट्टराईले उल्लेख गर्नुभयो ।
“सुुनसरीको इटहरी चोकबाट १६ किलोमिटर पूर्व गएपछि हरियो वनले ढपक्कै ढाक्छ । त्यससँगै केही मिटरपर पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा वेतना सिमसार रहेको छ”, उहाँले भन्नुभयो ।
दुई प्रजातिका वेत वनस्पतिको जङ्गल रहेकाले यस क्षेत्रलाई वेतना सिमसार क्षेत्र भनिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भट्टराईले बताउनुभयो ।
यहाँ विशेषगरी चिसो पानी, स्वच्छ हावा र मनोरम दृश्यसँगै चरा, माछा र कछुुवाको अवलोकन गर्न पाइने भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको उहाँको भनाइ छ ।
राजमार्गसँगै जोडिएको हुनाले यहाँ आउन सहज हुने भएकाले पनि वनभोज खान आउने आन्तरिक पर्यटकको दैनिक घुइँचो हुने गरेको वन उपभोक्ता समितिका सहसचिव राजन प्रसाईंले बताउनुभयो । उहाँका अनुसार सिमसार घुम्न आउने पर्यटकका लागि पाइडल डुङ्गाको पनि व्यवस्था गरिएको छ ।
पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको सहयोगमा रु २० लाखको लागतमा पानीको फोहोरा निमार्ण सुुरु गरिएको समितिका सहसचिव प्रसाईंले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ६५ बिघा क्षेत्रफल ओगटेको यस सिमसारमा साइबेरियाबाट आउने चराका साथै २५ प्रजातिका दुर्लभ चरा पाइन्छन् ।
तीन वर्षअघि अष्ट्रियाबाट आएका वैज्ञानिकहरूको टोलीले अतिसङ्कटापन्न सूचीमा रहेको ‘ब्ल्याक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा फेला परेका समितिका अध्यक्ष शम्भु भट्टराईले जानकारी दिनुभयो । यहाँ पाइने वनस्पति, पशुपन्छीको संरक्षणमा उपभोक्ता समिति लागिरहेको उहाँको भनाइ छ ।
समितिका अध्यक्ष भट्टराईका अनुसार विश्वमै दुर्लभ मानिने प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति यस क्षेत्रमा पाइन्छन् । बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईका अनुसार वेतना सिमसारलाई पूर्वी नेपालको एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताउनुभयो । यसका लागि तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।

