नवकान्तिपुर संवाददाता
गण्डकी, ४ जेठ ।

पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ । लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरु गर्नुभएको थियो ।
उहाँले फागुनमा सरस्वती जातका तीन हजार ५०० बिरुवा लगाउनुभएको थियो । अहिले औसतमा दैनिक २०० केजी तरबुजा बिक्री गरिरहनुभएको छ ।
उहाँका अनुसार प्रतिकेजी रु ६० का दरले दैनिक रु १२ हजारको कारोबार भइरहेको छ । बरालका अनुसार यस वर्ष रु १५ लाख बराबरको कारोबार गर्ने लक्ष्य छ । “तरबुजाको बजारका लागि चिन्ता लिनुपर्दैन, व्यवसायीहरु बारीमै लिन आइपुग्नुहुन्छ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार पहिलो वर्ष परीक्षणका रुपमा दुई रोपनीमा लगाएको राम्रो उत्पादन भएपछि खेती विस्तार गरिएको हो । वर्षमा एक बाली धानखेती मात्र हुने र बाँकी समयमा बाँझै रहने खेतमा छोटो समयमा राम्रो आम्दानी लिन सकिने नगदे बाली तरबुजाखेती गरेको उहाँले बताउनुभयो ।
किसान भरतबहादुर पराजुलीले पनि सोही स्थानमा ११ रोपनी जग्गामा तरबुजाखेती गर्नुभएको छ । उहाँका अनुसार फागुन अन्तिम साता सारेका बेर्नाले अहिले उत्पादन दिन थालेका छन् ।
उहाँले भन्नुभयो, “यस वर्ष रु तीन लाखभन्दा बढी आम्दानी हुने विश्वास छ । बारीमा काक्रो, सिमीलगायतका तरकारी पनि उत्पादन भइरहेको छ ।”
उहाँका अनुसार पोखरा महानगरपालिका कृषि महाशाखाले बीउ र ‘मल्चिङ’ प्लाष्टिक ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । बिरुवा फष्टाउँदै गर्दा चैत १७ गते र फूल खेल्दै गर्दा गत वैशाख १० गते परेको असिनासहितको पानीले केही क्षति गरेको उल्लेख गर्दै किसान पराजुलीले भन्नुभयो, “अहिले बाँदरले खाने र मानिसले चोरी गरेर लैजाने समस्या पनि थपिएको छ ।”
तरबुजाखेतीका लागि बलौटे माटो र बढी तापक्रमको आवश्यकता पर्ने उहाँको भनाइ छ । पोखरा महानगरपालिका–१३ का अध्यक्ष किरण बरालका अनुसार दुई वर्षअघि माटो परीक्षण गरी सुरु गरिएको तरबुजाखेतीमा यतिबेला युवा पनि आकर्षित भएका छन् ।
यस क्षेत्रमा अघिल्लो वर्ष रु एक करोड ५० लाखको तरबुजा उत्पादन भएको थियो भने यस वर्ष भने असिना र पानीको कारण क्षति पुगेकाले केही कमी आउने उहाँको भनाइ छ । यस क्षेत्रमा २५ जना किसान व्यावसायिकरुपमा तरबुजाखेतीमा सक्रिय हुनुहुन्छ ।
पोखरा महानगर, कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार महाशाखाले कृषकलाई कृषिप्रति प्रेरित गर्नका लागि विभिन्न सहुलियत प्रदान गर्दै आएको छ । तरबुजाखेतीका लागि पनि बीउ, मल्चिङ प्लाष्टिक, असिना छेक्ने जाली र प्राङ्गारिक मलमा ५० प्रतिशत अनुदान प्रदान गर्दै आएको छ ।
दोस्रो तरबुजा मेला
तरबुजा र खरबुजाखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले यही जेठ ५ गते पोखरा महानगरपालिका–१३ को वडा कार्यालय परिसरमा तरबुजा मेला आयोजना गर्न लागिएको छ । मेलामा किसानलाई सम्मान गरिने कृषि सञ्जाल पोखरा–१३ अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
मेलाको सम्पूर्ण तयारी पूरा भएको बताउँदै मेलामा विभिन्न प्रतियोगिता गरिने बताउनुभयो । गर्मी बढेसँगै पोखरा बजारमा पर्यटकीय चाप बढेको र तरबुजाको माग बढेको छ ।
