नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ जेठ ।

विगत करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा पुर्याएको योगदानको कदरस्वरुप विश्व वन्यजन्तु कोष नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ ।
कोषको ३३औँ स्थापना दिवसका अवसरमा प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप मङ्गलबार सो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।
यसअघि पनि सन् २०११, २०१३, २०१५, २०१६, २०१८ र २०१९ लाई शून्य सिकार वर्षका रूपमा मनाउन सफल भएकाले सेनाका विभिन्न छवटा युनिट ‘अब्राहम कन्जर्भेसन अवार्ड’ बाट सम्मानित भएका थिए ।
साथै बर्दिया राष्ट्रिय निकुञ्ज यसअघि ‘डबल टाइगर अवार्ड’ बाटसमेत सम्मानित भएकामा यस वर्ष वन्यजन्तु कोषले पनि विशेष सम्मान प्रदान गरेको छ ।
नेपाली सेना विसं २०३२ बाट औपचारिक रूपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ हुँदै आएको र हाल १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष र एक सिकार आरक्षको संरक्षणमा आठवटा गण, सात अनाश्रित गुल्म र एक प्रकृति संरक्षण शिक्षालय तैनाथ छन् । यी युनिटका करिब हजारभन्दा बढी फौज निरन्तर परिचालित हुँदै आएको छ ।
यसको परिणामस्वरूप सन् २००९ मा १२१ को सङ्ख्यामा रहेको पाटे बाघ हाल ३५५ र सन् २००५ मा ४०० को सङ्ख्यामा रहेको एकसिङ्गे गैँडा हाल ७५२ मा वृद्धि भएको छ ।
जटिल भौगोलिक बनावट तथा मौसमी प्रतिकूलता एवं विषम परिस्थितिका बाबजुद प्रकृति र पर्यावरणको संरक्षणका क्षेत्रमा सुम्पिएको जिम्मेवारी सेनाले सफलतापूर्वक सम्पादन गर्दै आइरहेको र यसक्रममा हालसम्म नेपाली सेनाका ११६ जनाको ज्यान गएको पनि सेनाले जनाएको छ ।

