बालबालिकामा कुपोषण बढ्यो

सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा कुपोषण हुने बालबालिकाको सङ्ख्या बढेको पाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता सञ्चालन गरेको अभियानमा बालबालिकामा विगतको भन्दा बढी सङ्ख्यामा कुपोषण देखिएको हो ।

स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतभन्दा यसपटक कुपोषणको भएका बालबालिकाको सङ्ख्या बढेको बताउनुभयो ।

उहाँका अनुसार कडा शीघ्र कुपोषण चार प्रतिशत बालबालिकालाई देखिएको छ । यसअघि उक्त सङ्ख्या एक प्रतिशतमा रहेको थियो ।

“यसपटक हामीले देशभरि नै अभियान सञ्चालन गरेकाले कडा शीध्र कुपोषणका बालबालिकालाई धेरै देखिएको हो”, शाखा प्रमुख थापाले भन्नुभयो, “पहिले हामी प्रदेशमा मात्र कुपोषणको अवस्था पत्ता लगाउने गर्दथ्यौँ र कम देखिएका हुन् ।”

उहाँका अनुसार कडा शीघ्र कुपोषण कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा बढी देखिएका छन् । कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे र करङ देखिने खालको हुने गर्दछन् ।

कडा शीघ्र कुषोषण लागेका बालबालिकालाई ‘तयारी उपचारात्मक खाना’ दिने र उक्त तयारी खाना खाएपछि बालबालिकालाई स्वस्थ्य हुने उहाँको भनाइ छ ।

तयारी खाना दिँदा पनि पहिलेको अवस्थामा नआएका बालबालिकालाई देशतिर २५ वटा पुनःस्थापना केन्द्रमा आमा र बच्चा दुवैलाई राखेर दैनिक रूपमा हेरेर तयारी खाना खुवाइने थापाले बताउनुभयो ।

यसैगरी, मध्यम कुपोषण १२ प्रतिशत बालबालिकामा देखिएको छ । मध्यम शीघ्र कुपोषण भएका बालबालिका दुब्लाउने, उमेरअनुसार तौल नहुने तथा लुरे हुने गर्दछन ।

अभियान जेठसम्म

शाखा प्रमुख थापाका अनुसार साधनस्रोतको कमीले जेठ महिनासम्म अभियान सञ्चालन गरिने छ । सरकारले पोषण पत्ता लगाउन पहिलो पटक गत वैशाख १५ देखि ३० गतेसम्म अभियान सञ्चालन गरेको थियो ।

बालबालिकाको उचाइ र तौल लिने उपकरणको अभावमा सबै पालिकामा अभियान सञ्चालन गर्न नसकिएकाले जेठ महिनासम्म अभियान विस्तार गरिएको हो । उहाँले अर्को वर्षदेखि यसलाई कार्यक्रमका रूपमा राखिने जानकारी दिनुभयो ।

सरकारले छ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकाको पोषण अवस्था जाँच गरी शीघ्र कुपोषणको समयमै पहिचान र उपचार गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको हो ।

यस अभियानअन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्थामार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा नापेर पोषणको स्थिति पत्ता लगाउने गरिएको छ ।

सम्बन्धित समाचार