
साहित्यकार महेश प्रसाईंद्वारा लिखित ‘इब्राहिमको घोडा र बिकिनीहरू’ हालै नेपाली साहित्यिक बजारमा आएको एक प्रयोगधर्मी कृति हो । सर्जक स्वयंले यसलाई ‘लघुकथासङ्ग्रह’ का रूपमा प्रस्तुत गरेका छन् र कृतिमा एक सय वटा लघुकथाहरू सङ्गृहीत छन् । यस कृतिलाई दायित्व वाङ्मय प्रतिष्ठान ले प्रकाशन गरेको हो ।
कृति पढ्दै जाँदा कुनै समय क्लिष्ट साहित्यकारको उपनाम पाएका मोहन कोइरालासँग भएको एउटा संवाद स्मरणमा आउँछ । नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति रहेका बेला उहाँसँग गरिएको अन्तर्वार्तामा सोधिएको थियो- “के तपाईं अहिले पनि आफ्ना सबै कविताको अर्थ त्यही रूपमा व्याख्या गर्न सक्नुहुन्छ ?” त्यसको जवाफमा उहाँले भन्नुभएको थियो- “सक्तिनँ । कुन मनःस्थितिमा, कुन परिवेशमा, कुन प्रभावबाट कविता लेखियो, त्यसलाई पछि गएर ठीक त्यही रूपमा व्याख्या गर्न कठिन हुन्छ । तर सिर्जना सार्वजनिक भइसकेपछि त्यो समाजको सम्पत्ति बन्छ । पाठकले जे अर्थ लगाउँछन्, अन्ततः त्यसैलाई स्वीकार गर्नुपर्छ ।”
‘इब्राहिमको घोडा र बिकिनीहरू’ पढ्दा यही धारणा सान्दर्भिक लाग्छ । कृतिलाई सतही रूपमा पढेर सहजै बुझ्न सकिने अवस्था छैन । क्लिष्ट शब्द चयन, पाश्चात्य साहित्यका प्रतीक र बिम्बहरूको व्यापक प्रयोग तथा अमूर्त कथनशैलीले यसलाई विशिष्ट बनाएको छ । नेपाली साहित्यका सामान्य पाठकका लागि यस कृतिको अर्थतह समात्न सहज नहुन सक्छ ।
कृतिको प्रस्तुति अत्यन्त काव्यात्मक, प्रतीकात्मक र व्यङ्ग्यात्मक छ । अधिकांश रचनाहरू लघु आकारका छन् । कतिपय रचनाहरूलाई परम्परागत अर्थमा लघुकथा भन्न सकिए पनि, शास्त्रीय दृष्टिले हेर्दा थोरै परिमार्जन गर्दा ती गद्य कविताका रूपमा पनि ग्रहण गर्न सकिने देखिन्छन् । तर सर्जकको उद्देश्य कवितासङ्ग्रह सिर्जना गर्नु नभई आख्यानलाई नयाँ ढङ्गले प्रस्तुत गर्नु रहेको स्पष्ट हुन्छ ।
यस सङ्ग्रहका लघुकथाहरूमा बौद्धिकताको चाप अत्यधिक देखिन्छ । त्यसैले कृति पढ्दा पाठकको भावनाभन्दा बढी उसको मस्तिष्क सक्रिय हुन्छ । कुनै कथाले मनलाई द्रवित पार्नेभन्दा पनि सोच्न बाध्य बनाउने प्रभाव उत्पन्न गर्छ । विशेषतः पाश्चात्य साहित्यिक विम्ब र उत्तरआधुनिक शैलीसँग परिचित नभएका पाठकका लागि कृति केही कठिन र दुरूह लाग्न सक्छ । तर यही विशेषताले यसलाई बौद्धिक वृत्तमा चर्चायोग्य बनाउने सम्भावना पनि उत्तिकै बलियो छ ।
सम्भवतः उत्तरआधुनिक लेखनशैलीको स्वाद नेपाली पाठकमाझ पुर्याउने उद्देश्यले गरिएको यो प्रयास उदाहरणीय मान्न सकिन्छ । कृतिको प्रयोगधर्मिता, शैलीगत नवीनता र भविष्यमा पार्न सक्ने प्रभावका विषयमा शोध, समीक्षा र विमर्श हुने पर्याप्त आधार यसले तयार गरेको छ ।
भूमिकामा अभिव्यक्त बौद्धिक धारणा र कृतिप्रतिको उच्च मूल्याङ्कन पढ्दा यस पुस्तकको परिचयमा उल्लेख गरिएका केही टिप्पणीहरू कडा वा असहज लाग्न सक्छन् । साहित्यिक स्वाद सबैका लागि सधैँ एकनास हुँदैन । धनियाँमा औषधीय गुण हुन्छ भन्दैमा सबैलाई धनियाँ मन पर्छ भन्ने हुँदैन। त्यसैगरी, कुनै कृति सबै पाठकका लागि समान रूपमा ग्रहणीय नहुन सक्छ । तर प्रयोगधर्मी साहित्यमा रुचि राख्ने पाठकका लागि ‘इब्राहिमको घोडा र बिकिनीहरू’ निश्चय नै सङ्ग्रहणीय कृति बनेको छ ।
कृतिसम्बन्धी विवरण :
